हवाइ यात्रुका वार्षिक २ करोड लगेज हराउँछन्

काठमाडौं, २९ जेठ । त्यो क्षण सबैका लागि अत्यन्तै निराशाजनक हुन्छ, जब हामी उडान पूरा गरेर आफ्नो लगेज पर्खिरहेका हुन्छौँ तर सबैको हातमा ब्याग आइसक्दा पनि आफ्नो सामान कतै देखा पर्दैन ।

यसरी उडान उद्योगले लगेज अर्थात यात्रुहरुको सामान हराउने समस्यामा धेरै सुधार ल्याइसकेको दाबी गर्दै आएको भएपनि अझै वार्षिक करोडौँ ब्यागहरु हराउने गरेको पाइएको छ । लगेज ट्रयाक गर्न नयाँ प्रविधिहरु अपनाइरहँदा पनि एयरलाइन्सहरुको यस कुरामा ठूलो कमजोरी देखिएको हो ।

लगेज नभेटिनुको अनुभव वास्तवमै सबै यात्रुहरुका लागि अत्यन्तै पीडादायक हुने गर्दछ । यसरी प्राविधिक क्षेत्रमा विश्व यति अगाडि आइसक्दा पनि हाम्रो लगेजलाई सुरक्षित साथ गन्तव्यमा पुर्‍याउन विमान कम्पनीहरु असफल भइरहेका छन् ।

हवाइ उद्योगलाई आईटी उपकरण प्रदान गर्ने अन्तर्राष्ट्रिय कम्पनी सिताले विश्वव्यापी लगेज व्यवस्थापनको निरीक्षण गर्ने गरेको छ, जसका अनुसार लगेजहरुको लापरबाहीको सङ्ख्या २००७ मा चार करोड ६९ लाखबाट २०१८ मा दुई करोड ४८ लाखमा झरेको छ ।

यसरी हवाइ यात्रुहरुको संख्या दोब्बर हुन पुगेको अवस्थामा यतिको सुधार ल्याउनुलाई राम्रो खबर मानिएको छ तर अझैपनि यस समस्याको पूर्ण समाधान भने हुन सकेन ।

यसरी लगेजको प्राविधिक तरिकाले निगरानी गर्ने ट्रयाकरमा एयरलाइन्सहरुको बढ्दो लगानीले नै सो उपलब्धी दिलाएको बताइएको छ । जस्तै अमेरिकी एयरलाइन डेल्टाले ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’, आरएफआइडी ट्यागको प्रयोग गर्ने गरेको छ जसमा रहेको बारकोड लेबल ब्यागमै रहिरहने हुँदा सो कोड विमानस्थल प्रणालीमा अटोमेटिक स्क्यान हुने गर्दछ ।

यस्तोमा कसैले जिम्मा नलिएका ब्याग फेला पार्न सजिलो भएको छ जसकारण ९९.९ प्रतिशत यात्रुहरुको लगेज सुरक्षित साथ गन्तव्यमा पुग्ने गरेको डेल्टाको दाबी छ । यसरी अन्य एयरलाइन्सहरुले पनि आरएफआइडी ट्याग र मोबाइल स्क्यानरको प्रयोग गर्न शुरु गरिसकेका छन् ।

तर पनि कूल ४.३ अर्ब ब्यागमा २ करोड ५० लाख ब्याग अझै हराउने वा गलत स्थानमा पुग्ने गरेका छन् । यसको सबैभन्दा ठूलो कारण भनेको उडान ट्रान्सफर अर्थात अर्को एयरलाइनको प्रयोग गर्नुपर्ने अवस्थामा र विमानको तालिकामा ढिलाइ हुन पुगेमा पनि उडानको समय हाम्रो ब्याग विमानसँग कनेक्ट गर्न सक्दैन ।

त्यस्तै अर्को कारण भनेको कतिपय यात्रु आफैँले गलत ब्याग उठाउने गर्दछन् । त्यस्तै ब्यागको व्यवस्थापन गर्ने प्रणाली जटिल हुँदा पनि यस्तो समस्या हुन्छ । जस्तै प्रायः एयरलाइन्सको लगेज व्यवस्थापन स्वतन्त्र हुन्छ तर कतिपय विमानस्थलमा यो प्रणाली अन्य एयरलाइन्ससँग पनि जोडिएको हुन्छ जसले पनि लगेजको उचित व्यवस्थापनलाई कठिन बनाउँछ ।

लगेजका जानकारी इनकोड गर्ने ‘इन्टरनेस्नल एयर ट्रान्सपोर्ट असोसिएसन’, लाटा सन् १९८९ देखि सञ्चालन हुँदै आएको छ । त्यस्तै बारकोड रिडर प्रणालीको निर्माण पनि १९५० को दशकमा भएको थियो ।

तर अझै पनि साना विमानस्थलहरुमा ती लेबल नियमित स्क्यान गरिँदैन । प्रविधि विक्रेता जेब्राले केही समय अगाडि मात्र ग्रिकका १४ विमानस्थलमा लगेज व्यवस्थापनका निम्ति २३० मोबाइल कम्प्युटर पठाएको बताएको छ जसले बारकोड स्क्यान गर्छ ।

यस्तोमा धेरै ठाउँमा अझै पेन र पेपरको प्रयोग भएको हुन सक्ने बताइएको छ । युरोपका साना विमानस्थलमा पनि यही समस्या धेरै देखिन्छ । उनीहरुका लागि नयाँ उपकरण र निरीक्षण प्रणाली स्थापना गर्नुको अर्थ अतिरिक्त खर्च बढाउनु हो । तर अर्कोतर्फ गलत गन्तव्यमा पुगेको लगेज वा हराएको लगेजको भर्पाइ गर्न पनि उत्तिकै समय र पैसा खर्च हुने गर्दछ ।

यसैकारण धेरै ठूला एयरलाइन्सहरुले लगेज व्यवस्थापनमा सुधार ल्याउनकै लागि अझ नयाँ र आधुनिक उपकरणहरुको परीक्षण गरिरहेका छन् र यसमा थुप्रै लगानी गरिरहेका छन् । जस्तै एयरलाइन एप मार्फत उडानको समयमा हाम्रो ब्याग कता छ भन्ने हेर्न सकिन्छ तर यसले ब्याग सुरक्षित अवस्थामा रहेकाबारे भने जानकारी गराउँदैन । अहिले साइबेरियन एयरलाइन, युनाइटेड र अमेरिकन एयरलाइन्सहरुले करोडौँ यात्रुका लागि यस्तो एपको सेवा प्रदान गरिरहेका छन् ।

सीताका अनुसार लगेज व्यवस्थापनमा युरोप सबैभन्दा खराब प्रदर्शन गर्नेमा परेको छ । जस्तै त्यहाँ वार्षिक प्रति एक हजार यात्रुमा ७ देखि ८ लगेजहरु असुरक्षित तरिकाले व्यवस्थित गर्ने गरेको पाइएको छ जुन एसियामा १.७७ मात्र रहेको छ । त्यस्तै लगेजमा नेटवर्क ट्याग लगाएर जिपिएसमार्फत पनि त्यसको स्थान पत्ता लगाउन सकिन्छ ।

तर चोरी भएका, हराएका र अन्तै पुगेका लगेजहरुको के हुन्छ त ? सीताका अनुसार केबल ५ प्रतिशत ब्यागहरु मात्र यस किसित्रमले अव्यवस्थित हुने गरेका छन् । यसरी कतिपय ब्यागहरु ‘लस्ट डिपार्टमेन्ट’ मा पुग्ने गर्दछन् र महिनौँसम्म पनि कोही नआए त्यसलाई अक्सनमा राखिने वा नष्ट गर्ने गरिएको छ ।

अमेरिकाको अलबामा स्थित ‘अनक्लेम्ड ब्यागेज सेन्टर’ ले विमानहरुमा लामो समयदेखि त्यसरी थन्किएका ब्यागहरु खरिद गरि तिनलाई नखोली विक्रीका लागि राख्ने गरेको छ । त्यसको वेबसाइटमा लेखिएको हुन्छ , ‘तपाईले यसमा जे पनि फेला पार्न सक्नुहुन्छ ।’ बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्