बारीभरी नयाँ कार, जग्गा पाउनु भगवानको ‘कृपा’


२९ जेष्ठ २०७६, बुधबार
car

सिमला, २९ जेठ । भारतको हिमाचल प्रदेशको राजधानी शिमला नजिकैका स–साना डाँडाका कान्लामा सयौंको संख्यामा नयाँ कार पार्किङ गरेको पाइन्छ । ती कार देख्दा लाग्छ– यहाँका मानिस निकै समृद्ध र सम्पन्न छन् । तर, वास्तविकता फरक छ ।

कुनै बेला अन्न तथा तरकारी खेती हुने खेतबारीमा नयाँ कार पार्किङ गर्नु स्थानीय किसानको बाध्यता हो । सिमला परवानु राष्ट्रिय राजमार्गस्थित शोगी गाउँमा कयौं किसानले खेती गर्न छाडेका छन् । बँदेल, बाँदर र नील गाईले बाली नष्ट गर्न थालेपछि उनीहरुले खेती छाडेका हुन् ।

बाँझो जमिन अहिले मोटर कम्पनीले भाडामा लिएर नयाँ गाडी पार्किङ गर्ने थलो बनाएको हो । स्थानीय कृषकका अनुसार जंगली जनावरले बाली नोक्सान गर्न थालेपछि बाँझो छाडिएको खेतबारी विभिन्न मोटर कम्पनीले भाडामा लिएर पार्किङस्थल बनाएका हुन् । ती खेतबारीमा नयाँ मोटर ल्याएर पार्किङ गरिन्छ । आवश्यकताअनुसार त्यहाँबाट ‘शो–रुम’ मा लगेर बेचिन्छ ।

जलेल गाउँ निवासी कान्तादेवी भन्छिन्, ‘कार कम्पनीले हाम्रो जमिन भाडा लिनु भगवानकै कृपा जस्तै भएको छ, खाली जमिनबाट केही न केही आम्दानी त भइरहेको छ ।’

खाली रहेको जमिनबाट मासिक ८–१० हजार रुपैयाँ पाउनु पनि ठूलो कुरा भएको उनले बताइन् । सिमलाबाट २०–२५ किलोमिटरको दूरीमा रहेका ५–६ गाउँमा एक हजारभन्दा बढी कार पार्किङ गरिएको छ । (बीबीसी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७