महेश बस्नेतको माग : लोकसेवाको विज्ञापन रद्द नगरौं, अनिकुमारको चेतावनी-फिर्ता नलिए अप्ठ्यारो पर्ला


२९ जेष्ठ २०७६, बुधबार
basnet jha

काठमाडौं, २९ जेठ । ‘विवादित’ लोकसेवाको कर्मचारी भर्ना आह्वानप्रति सांसदहरुको मत विभाजित बनेको छ ।

बुधबारको प्रतिनिधिसभा वैठकमा सत्तारुढ नेकपाका सांसद महेश बस्नेतले प्रदेश लोकसेवा आयोग गठन गरेपछि क्षतिपूर्ति दिने गरी अहिले लोकसेवा आयोगले खुलाएको विज्ञापन अगाडि बढाउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै नेकपा सांसद बस्नेतले प्रदेश लोकसेवा आयोग गठन भएपछि आरक्षण र क्षतिपूर्तिको व्यवस्था गर्न सकिने बताएका हुन् । ‘लोकसेवाले खुलाएको ९ हजार १६१ विज्ञापन रोक्न संसदीय समितिले निर्देशन गरेपछि विज्ञापन विवादमा परेको छ ।

संघीयता पक्षधरले यसको विरोध जनाएका छन्,’ बस्नेतले भने, ‘प्रदेश लोकसेवा आयोग गठन भएपछि आरक्षण र क्षतिपूर्तिको व्यवस्था गर्न सकिन्छ । संसदीय समितिलाई गम्भीर भएर निर्णय गर्न सुझाव दिन्छु,’ बस्नेतले भने ।
‘विज्ञापन फिर्ता नलिए अफ्ठेरो पर्ला’
यता राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक अनिलकुमार झाले लोकसेवा आयोगको विज्ञापन समावेशी बनाउनुपर्ने माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोकसेवाले समावेशी नबनाई प्रकाशित गरेको विज्ञापनलाई रद्द गरिनुपर्ने बताएका छन् । उनले वर्षौंदेखि तयारी गरिरहेका विद्यार्थी सडकमा आउनुपर्ने अवस्था आएको भन्दै संविधान विपरीत आएको विज्ञापन सरकारले सच्याउनु पर्नेमा जोड दिए ।

‘समावेशी नभएको विज्ञापन सच्याउनु पर्नेमा हठी दूधे बालक जस्तो भएर लागू गरेरै छाड्छु भनिंदैछ’, उनले भने, ‘राज्य व्यवस्था तथा सुशासन समितिले रद्द गर्न निर्देशन दिँदा पनि सरकार मानिरहेको छैन । यो विज्ञापन खारेज गरियोस् ।’

समावेशीताका आधारमा लोकसेवाको विज्ञापन नल्याएमा अप्ठ्यारो अवस्था आउन सक्ने उनले चेतावनी दिए । ‘यो विज्ञापनले समावेशी सिटलाई खुलातर्फ पठाउनुपर्ने हुन्छ । विज्ञापन फिर्ता लिनुपर्ने हुन्छ’, उनले भने, ‘गुठी विधेयकले धर्म र संस्कृतिमाथि प्रहार भएको छ ।’

नेता झाले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन छिटो सार्वजनिक गर्न माग गरे । ‘प्रधानमन्त्री र कानुनमन्त्रीले प्रतिबद्धता जनाउनुभएको छ’, उनले भने, ‘त्यहीअनुसार सार्वजनिक गरियोस् होइन भने भनियोस् कि यो सार्वजनिक हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७