अब १२ कक्षा पास नगरी विदेश पढ्न जान नपाइने


२९ जेष्ठ २०७६, बुधबार
bidesh 2

काठमाडौं, २९ जेठ । के तपाईले कक्षा १२ को पढाई सक्नु भयो ? कि १२ कक्षा पूरा नगरी पढ्नका लागि विदेशिने सोंचमा हुनुहुन्छ ? यदि यसो हो भने १२ कक्षा पास नगरी तपाई पढ्नका लागि विदेश जान पाउनु हुन्न ।

 

अब सरकारले १२ कक्षा पास नगरी विदेशमा पढ्न जान नदिने भएको छ । एसईई उत्तीर्ण गरेका विद्यार्थी बंगलादेश, अष्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा पढ्न जान स्वीकृति (नो अब्जेक्सन लेटर) लिन आउने क्रम बढ्पछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिन रोकेको छ ।

अबदेखि १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने निर्णय भएको शिक्षा मन्त्रालयका उपसचिव महेश्वर शर्माले जानकारी दिएका छन् । १२ कक्षासम्म माध्यमिक शिक्षा नै भएकाले विद्यालय शिक्षा सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने मन्त्रालयको निर्देशन रहेको जानकारी दिंदै उनी भन्छन्, ‘अब ‘१२ कक्षा उत्तीर्णहरूले मात्रै नो अब्जेक्सन लेटर पाउँछन् ।’

 

sikcha

‘पहिले कक्षा ११ र १२ लाई पनि उच्च शिक्षा भनिन्थ्यो । त्यही भएर नो अब्जेक्सन लेटर दिइएको हो,’ शर्माले थपे, ‘संविधानअनुसार र ऐनअनुसार पनि १२ कक्षासम्म विद्यालय शिक्षा भइसकेको छ । त्यसैले १२ पास नगरी अब नो अब्जेक्सन लेटर लिन–दिन पाइँदैन ।’

विदेश पढ्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृति तथा विदेशी मुद्रा सटही सुविधाका लागि पनि नो अब्जेक्सन लेटर चाहिन्छ । स्वीकृति लिन चाहने विद्यार्थीले नागरिकताको फोटोकपी र शैक्षिक योग्यताका प्रमाणपत्रजस्ता आवश्यक कागजात बुझाएपछि नो अब्जेक्सन लेटर पाउँदै आएका थिए ।

मन्त्रालयले विद्यालय तहका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान कडाइ गर्न नो अब्जेक्सन लेटर दिने व्यवस्था बन्द गरिदिएको हो । मन्त्रालयको उद्देश्य विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न नपठाउने भन्ने नै रहेको समेत शर्माले स्पष्ट पारे ।

स्नातक, स्नातकोत्तर र विद्यावारिधिलगायत पढ्न जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन कुनै बाधा नरहेको शर्माले जानकारी गराएका छन् ।
‘नितान्त डिप्लोमा मात्रै पढ्न जाने भन्नेलाई नो अब्जेक्सन लेटर बन्द भयो,’ उनले भने, ‘त्यो डिप्लोमा पढाइ उच्च शिक्षा भएन भन्ने छ ।’

कसैको व्यक्तिगत समस्या देखिएमा परराष्ट्र मन्त्रालय वा राजदूतावासको सिफारिस आए एसईई पढेर डिप्लोमा पढ्न चाहने विद्यार्थीलाई पनि नो अब्जेक्सन लेटर दिन सकिने उनको भनाइ छ ।

‘विदेशमा परिवार छन् र त्यहीँ गएर पढ्नु पर्ने बाध्यता छ भने त्यस्ता समस्या हुनेलाई बाधा अड्काउ फुकाउन सकिन्छ,’ शर्मा भन्छन्, ‘तर सामान्यतया अब १२ कक्षा पास नहुनेलाई नो अब्जेक्सन लेटर दिन ऐनले पनि दिँदैन ।’

१२ उत्तीर्ण नभएका विद्यार्थीलाई स्वीकृति नदिने निर्देशन कार्यान्वयनमा आइसकेको समेत शर्माले बताए । गएको आर्थिक वर्ष मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएर ७० हजार भन्दा बढी विद्यार्थी विभिन्न कोर्स पढ्न विदेश गएको तथ्याङ्कले देखाएको छ । यीमध्ये एमबिबिएस पढ्न जाने धेरै विद्यार्थी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७