नेपाली कांग्रेस : संगठन बिनाको जागरण अभियान

महाधिवेशनको तीन बर्षमा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कूल १८२ विभाग नेतृत्वविहीन


३० जेष्ठ २०७६, बिहीबार
Congress Sher bahadur deuwa ramchandra paudel and Krishna prasad sitaula

काठमाडौं, ३० जेठ । पहिलो चरणको जागरण अभियानमा पूरा गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दोस्रो चरणको अभियान पनि घोषणा गरिसकेको छ । प्रशिक्षणसहित हुने दोस्रो चरणको अभियान शुरु गर्दै गर्दा कांग्रेसको धेरै संगठनहरु अपूर्ण र नेतृत्वविहीन अवस्थामा छन् ।

पार्टीभित्र ती बिभाग तथा संगठनहरुलाई पूर्णता दिन तीब्र दबाब छ । तर, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकर्ताको माग सम्बोधन गर्न असफल भएका छन् । पार्टी बिधानलाई समेत वेवास्ता गर्दै उनी अगाडि बढिरहेका छन् ।

 

nepali congress

बिभागसहित केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा भने अझै अन्योल नै देखिएको छ । कांग्रेसले १३ औं महाधिवेशन सकिएको तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कूल १८२ विभाग नेतृत्वविहीन अवस्थामा छ ।

कांग्रेसका एक केन्द्रीय सदस्यले पार्टी महाधिबेशन बितेको बर्षौ भए पनि ती बिभाग तथा निकायहरु अझै रिक्त हुँदा पार्टी चलायमान हुन नसकिरहेको बताए । शीर्ष नेताहरु संगठन निर्माण गर्न नै असफल भइरहेका बेला भइरहेका जागरण अभियान अर्थ र प्रभावकारिता नरहने उनी बताउँछन् ।

पहिलो चरणको जागरण अभियानमा तल्लो तहका नेता–कार्यकर्ताले पार्टी संरचनामाथि नै प्रश्न उठाए । उनीहरुले नेतृत्वप्रति आक्रोश पोख्दै अहिलेसम्ममा बिभाग, निकायलगायतका संगठन किन रिक्त भन्दै प्रश्न गरेका थिए ।

कार्यकर्तास्तरबाट प्रश्न नै प्रश्न आएपछि कांग्रेस नेतृत्वले अभियानको क्रममा दोस्रो चरणको जागरण अभियान अघि नै पार्टी संगठन तथा भ्रातृ संगठनलाई पूर्णता दिने आश्वास दिए । तर, अहिले दोस्रो चरणको कार्यक्रमसहित अभियान शुरु गर्दै गर्दा ती संगठन निर्माण हुन सकेका छैनन् ।

‘पहिलो चरणको जागरण अभियानमा नेता–कार्यकर्ताबाट धेरै गुनासो आयो, अब सभापतिजीले पार्टीका विभाग तथा भ्रातृ संगठनलाई पूर्णता दिएर दोस्रो चरणको जागरणमा जाने भन्नु भएको छ, दोस्रो चरणको जागरणअघि नै रिक्त विभागले पूर्णता पाउँछ,’ सभापति देउवा निकट एक नेताले भने ।

कांग्रेसको २०–२३ फागुन २०७२ मा १३ औं महाधिवेशन भएको थियो । महाधिवेशन सकिएको तीन वर्ष बित्दा समेत कांग्रेसले रिक्त रहेका विभागलाई पूर्णता दिन सकेको छैन । विभागले पूर्णता नपाउँदा पार्टीका केन्द्रदेखि प्रदेशसम्मका नेताहरू जिम्मेवारीबिहीन भएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा रिक्त रहेका विभागलाई पूर्णता दिनेबारे छलफल भइरहेको बताएका छन् । महाधिबेशन पछि सम्पन्न गर्नुपर्ने काम अझै बाँकी भए पनि अब ती सबै काम छिट्टै टुङ्गो लाग्ने उनले बताए ।

‘योबीचमा पार्टीमा रिक्त रहेका नेवि संघसहितका भ्रातृ संगठनलाई पूर्णता दिने भन्ने विषयमा अब द्वुविधा छैन, पार्टीका रिक्त विभागका विषयमा समेत छलफल चलिरहेका छन्, विभाग गठनका विषयमा पनि तयारी हुँदैछ,’ प्रवक्ता शर्माले भने ।

शर्माले सबै विषयलाई सहमतिबाट नै टुङ्ग्याउने विषयमा सभापति लागेको बताएका छन् । पार्टी सभापति देउवालाई पार्टीका रिक्त विभाग तथा निकायलाई पूर्णता दिने बाहेक प्रदेश समिति, प्रदेश सभा निर्वाचन क्षेत्रीय समिति, पालिका समिति तथा वडा कार्यसमिति समेत गठनमा तीव्र दबाब रहँदै आएको छ ।

विधानअनुसार केन्द्रीय विभागमा प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य रहने व्यवस्था छ भने केन्द्रीय कार्यसमितिका सदस्य विभागको प्रमुख रहने उल्लेख छ । यस्तै, केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, सचिव र सदस्य मनोनीत गर्ने व्यवस्था छ । विभागका उपप्रमुख, सचिव, सदस्यमा मनोनयन हुन नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनुपर्नेछ भने मनोनयन गर्दा समावेशी सिद्धान्तलाई ध्यान दिइनुपर्ने उल्लेख छ ।

कांग्रेसको गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकपछि कांग्रेसलाई मुलुकको नयाँ संविधानले तय गरेको संरचना अनुसारको पार्टीको संरचना बनाउन समेत बाटो प्रष्ट भएको छ । पार्टीको केन्द्रीय विभाग गठन गर्न विधानले नरोके पनि प्रदेश समिति, प्रदेश सभा निर्वाचन क्षेत्रीय समिति, पालिका समिति तथा वडा कार्यसमिति गठन गर्न भने विधानले रोकेको थियो । तर, सभापति देउवाकै असफलताले ती बिभाग, निकायलगायतका संगठनहरुले पूर्णता पाउन नसकेको हो ।

हाल कांग्रेसको सबै भन्दा प्रभावशाली विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेतृत्वविहीन छ । यस्तै, तरुण दलको केन्द्रीय कार्यसमिति समेत अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षकै भरमा चल्दै आएको छ । तरुण दलको महाधिवेशन २०७३ कात्तिकमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७