ओपन टेबलटेनिसमा प्रहरीलाई मिक्स टिमकाे उपाधि


२५ मंसिर २०७४, सोमबार
ओपन टेबलटेनिसमा प्रहरीलाई मिक्स टिमलाई उपाधि

काठमाडौं: नेपाल प्रहरी क्लबले हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिक्स टिम इभेन्टको उपाधि सोमबार जितेको छ ।ओपन टेबलटेनिसमा प्रहरीलाई मिक्स टिमलाई उपाधि

प्रहरीले नेपाल एपीएफ क्लबलाई १७-५ ले पराजित गर्‍यो । मिक्स टिममा समान ५–५ पुरुष र महिला खेलाडी थिए । मिक्स टिमको पुरुष सिंगल्समा प्रहरीका राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठले एपीएफका अमरलाल मल्ललाई २-१, महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन प्रहरीकी नविता श्रेष्ठले एपीएफकी सेलिशा खड्गीलाई ३-०, पुरुष डबल्समा प्रहरीका श्यान्टु र विनेश खनियाको जोडीले एपीएफका अमर र शिवसुन्दर गोथेको जोडीलाई २-१, मिक्स डबल्समा प्रहरीका दीप साउन र नविताको जोडीले एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवालको जोडीलाई ३-०, पुरुष सिंगल्समा प्रहरीका दीपले एपीएफका पुरुषोत्तमलाई २-१ तथा महिला सिंगल्समा प्रहरीकी एलिना महर्जनले एपीएफकी अन्जु सुवाललाई ३-० ले पराजित गरे ।

अर्को पुरुष सिंगल्समा भने एपीएफका शिवले प्रहरीका विनेश खनियालाई २-१ ले हराए । महिला डबल्समा प्रहरीका एलिना र मन्जु सुवालको जोडीले एपीएफका सेलिशा र अनिता महर्जनको जोडीलाई पहिलो सेट ११–१ ले जितेपछि प्रहरी टिमले बाँकीका खेलहरु खेल्नु परेन ।

मिक्स टिममा जुन टिमले अगाडि १७ अंक हासिल गर्छ उसैलाई विजेता घोषणा गर्ने प्रावधान अनुरुप बाँकी रहेका खेलहरु अगाडि नबढाइएको हो । मिक्स टिममा एक सेट जित्ने टिमलाई १ अंक दिने प्रावधान थियो ।

सोमबारै भएको दोश्रो क्लालिफायरमा एपीएफले नेपाल आर्मी क्लबलाई १७–१० ले पाखा लगाउदै प्रहरीसंग उपाधि भिडन्त पक्का गरेको थियो । प्रहरीले भने आइतबारै पहिलो क्वालिफायरमा आर्मीमाथि १७–१० को जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो । सात टिम सहभागी मिक्स टिममा आर्मीले तेश्रो स्थानमा चित्त बुझायो । शीर्ष तीन स्थान हात गर्नेले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

यसअघि पुरुष सिंगल्समा प्रहरीका श्यान्टु पहिलो, प्रहरीकै दीप दोश्रो र एपीएफका पुरुषोत्तम तेश्रो भएका थिए । सोही स्पर्धाको महिलामा प्रहरीकी नविता पहिलो, नविताकी नन्द प्रहरीकै एलिना दोश्रो र आर्मीकी स्वेच्छा नेम्वाङ तेश्रो बनेका थिए । पुरुष-महिला दुवै सिंगल्समा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजारका दरले नगद पुरस्कार हात पारे ।

त्यस्तै यु–१६ सिंगल्सको ब्वाइजमा एपीएफका सन्योग कपाली, एपीएफकै एलेक्स महर्जन तथा यल स्पिनका डिकेन महर्जन पहिलोदेखि तेश्रो हुँदै क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार थापे । त्यसै स्पर्धाको गल्र्समा आर्मीकी दीक्षा दाहालले स्वर्ण, वज्र युनियनकी स्मृति पन्तले रजत र एपीएफकी अन्जु सुवालले कांस्य जिते । गल्र्सले पनि ब्वाइज सरहनै नगद पुरस्कार पाए । इम्पेक्ट स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा मंसिर १७ गतेदेखि सुरु प्रतियोगितामा ८० खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७