लाइसेन्समा सेटिङ गर्ने असई पक्राउ


३१ जेष्ठ २०७६, शुक्रबार
keshar malla 2

पोखरा, ३१ जेठ । सवारी अनुमतिपत्र बितरणमा यातायात कार्यालय र ट्राफिक प्रहरीको सेटिङ हुने गरेको छ । यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीको सेटिङमा लिखित र ट्रायलमा फेल हुनेहरुले पनि घुस दिएपछि लाइसेन्स पाउने गरेका छन् ।

कास्की ट्राफिकका असई केशर मल्ललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि यो कुरा पुष्टी भएको छ । नयाँपेजले २०७६ जेठ २३ मा कास्की ट्राफिकमा लामो समयदेखि कार्यरत असई मल्लले पोष्टहरुमा सरुवा गर्नेदेखि लाइसेन्सको सेटिङ गर्ने गरेको समाचार सार्वजनिक गरेको थियो ।

यातायात व्यवस्था कार्यालय गण्डकीबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउँदा लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक खगेन्द्रप्रसाद काफ्लेलाई पक्राउ गरेको थियो । लामिछाने र काफ्लेसँग असई केशर बहादुर मल्लको कनेक्सन देखिएपछि अख्तियारले उनलाई पक्राउ गरेको हो ।

लाइसेन्समा हुने अनियमिततामा यातायातका कार्यालय प्रमुखदेखि ट्राफिक प्रहरी समेतको मिलेमतो हुने गरेको खबर पाएसँगै अख्तियारले यातायात ब्यवस्था कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा निगरानी बढाएको थियो । लाइसेन्सका बिचौलिया ड्राइभिङ इन्ष्टिच्यूटहरुसँग पनि मल्लको कनेक्सन देखिएको छ ।

यातायात व्यवस्था कार्यालयबाट लिखित परीक्षा र ट्रायल पास गराइदिने भनी सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनीहरुलाई ड्यामसाइडस्थित बार्दली रेष्टुरेन्टबाट पक्राउ गरेको थियो ।
काफ्लेले विभिन्न सेवाग्राहीसँग लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै लिएको १ लाख ६ हजार रुपैँया र डायरी लगायत प्रमाणहरु बरामद गरेको थियो । । लाइसेन्समा हुने घुसखोरीमा यातायातका कार्यालय प्रमुखदेखि ट्राफिक प्रहरी समेतको मिलेमतो हुँदैआएको छ । कास्की ट्राफिकका प्रमुख इन्स्पेक्टर मुरारी मिश्रको संरक्षणमा असई केशर मल्लले लाइसेन्समा सेटिङ गर्दैआएका थिए ।

इन्स्पेक्टर मिश्र प्रहरीमा सेवाप्रवेशदेखि नै विशेष गरी ट्राफिकका आकर्षक पोष्टमा बसी अकूत सम्पत्ति कमाउनेमा पर्दछ्न् । पूर्वडीआइजी ज्ञानेन्द्रविक्रम महतको पीए बसेकाले उनकै सोर्सफोर्समा उनी सधैं आकर्षक पोष्ट पाउनेमा पर्दछन् ।

यसैबीच, कास्की ट्राफिक प्रहरीका दुई जवान घुस मागेको आरोपमा प्रहरी हिरासतमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत ट्राफिक जवानद्वय हरिश्चन्द्र रिमाल र मोहनसिंह बिकमाथि घुस मागेको आरोप लागेको छ ।

चेकिङका क्रममा घुस मागेपछि चालकको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
विहान १० देखि दिउँसो २ बजेसम्म ड्युटी परेका जवानद्वयले कलेज पढ्ने विद्यार्थीसँग पैसा लिन खोजेको उजुरी परेको हो ।

यो पनि पढ्नुहोस्ः

लाइसेन्स बितरणमा घुस लेनदेनः सेटिङमा कास्की ट्राफिक पनि संलग्न ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७