नेपाल-भारत जोड्ने झोलुङ्गे पुल चार दिनका लागि बन्द


१ असार २०७६, आईतवार
darchula khalanga

दार्चुला, १ असार । दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल चार दिनका लागि बन्द गरिने भएको छ ।

पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द आवत–जावत बन्द गर्न लागिएको हो । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिएका छन् । भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । सोही पत्राचारअनुसार चार दिन पुल बन्द गरिन लागेको हो ।

नेपाल–भारत जोड्ने खलङ्गास्थितको झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले मर्मत कार्य सञ्चालन भएको अवधिभर पुल बन्दको व्यवस्था मिलाई दिन उपखण्ड लोक निर्माण विभाग धार्चुलाले अनुरोध गरेको छ ।

यसअघि पनि भारतीय पक्षले गत फागुन ९ गतेदेखि १३ गतेसम्म मर्मतकार्य गर्ने जनाए पनि अन्तमा भारतीय पक्षले मर्मत कार्य भने गरेको थिएन । २०२८ सालतिर निर्माण गरिएको उक्त झोलुङ्गे पुलको प्लेट जीर्ण बन्दै गएकाले फेर्नेलगायतका मर्मत कार्य गरिने बताइएको छ ।

भारतीय पक्षद्वारा निर्माण गरिएको उक्त झोलुङ्गे पुलको हरेक तीन वर्षमा मर्मतकार्य गरिँदै आएको छ । सोहीअनुसार भारतीय पक्षले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको मर्मत गर्न लागेको हो । भारतीय बजारमा निर्भर स्थानीय नेपाली झोलुङ्गे पुल बन्द हुँदा समस्यामा पर्ने गर्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७