एकताको बाँकी सकिएपछि नेकपाले पनि जागरण अभियान सुरु गर्ने

‘पार्टी एकताको सन्देश र सरकारका राम्रा कामको जानकारी गाउँ तहसम्म पुर्‍याउँछौं’


१ असार २०७६, आईतवार
Kp Oli pm of nepal Puspa kamal dahal prachand nad madhav kumar nepal

काठमाडौं, १ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी रुपमा जागरण अभियान शुरु गर्ने भएको छ । पार्टी एकतापछि केन्द्रदेखि गाउँसम्म नेकपाले जागरण अभियान शुरु गर्ने जनाएको छ । पार्टी एकतासम्बन्धी बाँकी काम टुङ्गो लगाउँदै जागरण अभियान शुरु हुँदैछ ।

नेकपा स्थायी कमिटीका सदस्य देबेन्द्र पौडेलले पार्टीले केन्द्रदेखि गाउँसम्म जागरण अभियान सञ्चालन गर्ने जानकारी दिएका छन् । पार्टी एकतासम्बन्धी बाँकी काम टुङ्गो लगाउँदै पार्टीले छिट्टै नै देशव्यापी जागरण अभियान सञ्चालन गर्ने उनले बताए ।

‘दुई ठूला कम्युनिष्ट पार्टीबीचमा एकता भयो तर, लामो समयसम्म कार्यकर्ताबीचमा पुग्न नसकिएकै हो’, पौडेलले भने, ‘गाउँदेखि केन्द्रसम्म पार्टीले जागरण अभियान सञ्चालन गर्छ ।’

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली यूरोप भ्रमणबाट फर्किएसँगै पार्टीको सचिवालय बैठक बस्ने उनले बताए । अब बस्ने सचिवालय बैठकले एकतासम्बन्धी बाँकी काम टुङ्गो लगाउँदै देशव्यापी रुपमा जागरण अभियानको कार्यक्रम पनि आउने उनले बताए ।

एमाले र माओवादी केन्द्रबीचमा एकता भएपछि कुनै ठोस कार्यक्रम भएको छैन् । प्रशिक्षण, भेला, बैठक, सभालगायतका बिभिन्न कार्यक्रम लिएर गाउँ–गाउँसम्म पुग्ने योजना नेकपाले बनाउँदैछ । केन्द्रदेखि गाउँसम्म सरकारले गरेका राम्रा कामको प्रचार, पार्टी एकताको सन्देश दिनेलगायतका बिषयमा जागरण अभियान केन्द्रीत हुने कार्यक्रम बन्दैछ ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले जागरण अभियान सञ्चालन हुने बताए । सरकारले गरेका कतिपय राम्रा काम बुझाउन नसकिएको बताउँदै उनले सरकारका राम्रा कामका साथै पार्टी एकताका बिषय लिएर जागरण अभियान सञ्चालन हुने उनले बताए ।

‘हामीले अझै पार्टी एकताका साथै सरकारका कामका बारेमा राम्रोसँग बुझाउन जागरण अभियान शुरु गर्दैछौं’ साहले भने, ‘जागरण अभियान गाउँदेखि केन्द्रसम्म हुनेछ, त्यसक्रममा प्रशिक्षण, भेला, बैठक, सभालगायतका कार्यक्रम हुनेछ ।’

सरकारले गरेका राम्रा काम राम्रोसँग जनताका बीचमा पुग्न नसकेको बताउँदै उनले जागरण अभियानका क्रममा सो बिषयमा बिस्तृत जानकारी दिने बताए । यसैगरी पार्टी एकतापछि हुने जागरण अभियानले कार्यकर्तामा थप उर्जा आउने बिश्वास उनले व्यक्त गरे ।

नेकपाले पोलिटव्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरुको कार्य बिभाजनलगायतका एकतासम्बन्धी बाँकी काम टुङ्गो यसै साता लगाउँदैछ । यसैगरी बिभाग गठनदेखि स्थानीय तहसम्मका कमिटीको एकता टुङ्गो लाग्ने क्रममा छ । पार्टीको आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन पनि टुङ्गो लाग्ने क्रममा रहेको छ ।

नेकपाको अन्तरिम विधानअनुसार तीन वटा आयोग रहने प्रस्ताव गरिएको छ । जसमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग रहने व्यवस्था छ । अहिलेसम्ममा पार्टीको सचिवालय, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला र जनसंगठनको एकता टुङ्गो लागि सकेको छ ।

३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा पार्टी एकीकरण भएको थियो । तर, एक बर्ष बित्दा समेत पार्टीको एकता टुङ्गो लाग्न नसक्दा त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको छ । नेताहरुले जिम्मेवारी पाउन नसक्दा पार्टी प्रभावकारी एवम् बिधान अनुसार सञ्चालन हुन सकेको छैन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७