‘जङ्गलमा हुँदा नेवारलाई ‘नेवा राज्य’ दिन्छु भन्ने, सत्तामा हुँदा गुठी समेत खोस्ने ?’


१ असार २०७६, आईतवार
rajendra

काठमाडौं, १ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले गुठी नेपाली मौलिकता सँस्कृति र परम्परा भएकाले यसमा कसैबाट हस्तक्षेप हुन नहुने बताएका छन् । संसद्को शून्य समयमा बोल्दै सांसद लिङ्देनले गुठी परम्परा किरातकालबाट शुरु भई लिच्छवीकालमा विकसित भएको बताएका छन् ।

सांसद लिङ्देनले गुठीमाथिको हस्तक्षेप केवल गुठीयारहरुमाथि मात्रै नभई सनातन परम्परामाथिकै आक्रमण भएको भन्दै यस्तो गलत काम नगर्न सरकारलाई चेतावनी दिए । उनले भने, ‘जङ्गल र सडकमा भएको बेला नेवारलाई ‘नेवा राज्य’ नै दिन्छु भन्ने, अहिले सत्तामा पुगेर नेवारहरूको गुठी नै खोसिदिन ?’

उनले थपे, ‘म सरकारलाई आग्रह गर्न चाहन्छु नीति बिग्रनु अगाडि नै गुठी विधेयकलाई फिर्ता लिएर संरक्षण र प्रवर्धन गर्नुपर्छ ।’ उनले उपत्यका बाहिर रहेका मोहीहरुको समेत समस्याको समाधान हुने गरी नयाँ विधेयक पेस गर्न पनि आग्रह गरे ।

सांसद् लिंदेनले आफ्नो सनातन परम्पराका पक्षमा उभिएका जनतालाई होच्याउने र चिड्याउने ढङ्गले गुठी परम्परा सामान्तवाद भन्नु ‘आगोमा घ्यू थप्नु भएको पनि बताएका छन् । उनले कुनै पनि देश भूगोलले मात्र नबन्ने बताउँदै भने, ‘विसं २०३२ सालसम्म हाम्रै छिमेकमा सिक्किम भन्ने देश थियो, तर आज छैन । आज पनि सिक्किमको भूगोल कसैले बोकेर लगेको छैन, जहाँको त्यहीं छ । नाम पनि उहीं छ तर, देश छैन । देश हुनको लागि भूगोल बाहेक अन्य स्थायित्वको आधारहरू पनि हुन्छ, त्यो समाप्त भएपछि देशको अस्तित्व स्वतः समाप्त हुँदोरहेछ ।’

सिक्किममा राज संस्था ढलेपछि स्थायित्व पनि ढलेको भन्दै जानकारी गराउँदै लिङ्देनले भने, ‘हाम्रोमा पनि स्थायित्व र पहिचानका आधारहरू अनेक बाहनामा भत्काउने क्रम बढिरहेको छ ।’ उनले यो गुठीमाथिको आक्रमण यहीं स्थायित्व र पहिचानमाथिको आक्रमण भएको भन्दै गुठी विधेयक तत्काल रोक्न आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७