विवादित छवी सुधार्न लोकसेवाको मोवाइल म्यासेज


१ असार २०७६, आईतवार

काठमाडौं, १ असार । पछिल्लो समय लोकसेवा आयोग विवादित बनेको छ । आयोगले यहि जेठ १५ गते स्थानीय तहका लागि नौ हजार १६१ विभिन्न पदमा खुलाएको विज्ञापन असमावेशी भएको भन्दै अहिले सर्वत्र विरोध भइरहेको छ ।

यसैगरी सुशासन तथा राज्य व्यवस्था समितिले उक्त विज्ञापन संविधानको मर्म र भावना विपरीत भएको ठहर गर्दै रद्ध गर्न निर्देशन समेत दिइसकेको छ । आयोगको विज्ञापन विभेदकारी, सामाजिक न्यायको सिद्धान्त विपरीत समेत भएको भन्दै प्रतिनिधिसभाको बैठकमा सांसदसँगै दलित, जनजाति र अपाङ्गता भएका व्यक्तिले विभिन्न चरणका आन्दोलन गर्दै आएका छन् ।

उनीहरुले नेपालको संविधानको धारा ३८(४), ४०(१), ४२(१) र धारा २८५ ले प्रत्याभूत गरेको महिला, दलित, मधेसी, थारु, जनजाति, मुसलमान, पिछडिएका वर्ग क्षेत्र समेतलाई राज्यको निकायमा समानुपातिक समावेशी हुन पाउने अधिकारलाई आयोगको विज्ञापनले पूर्णरुपमा बेवास्ता गरे बताइरहेका छन् ।

 

यस्तै प्रदेश नम्बर–२ को सरकारले आयोगविरुद्ध अदालतमा जाने बताएका थिए । मुख्यमन्त्री लालबाबु राउतले संविधानको धारा २२७ को व्यवस्था विपरीत आयोगले काम गरेको बताउँदै तत्काल नसच्चिए मुद्दा हाल्ने चेतावनी नै दिइसकेका छन् ।

विवादित बनिरहेको लोकसेवा आयोगले निर्देशनको बारेमा आधिकारिक धारणा व्यक्त गरेको छैन । तर, उसले सञ्चार सेवा प्रदायक संस्थामार्फत आयोगले ‘लोकसेवा आयोगको प्रतिबद्धता ः योग्यता, स्वच्छता र निष्पक्षता’ भनेर मोवाइलमा सन्देश पठाइरहेको छ । आयोगले सन्देशमा लेखेको छ, ‘लोकसेवा आयोगको प्रतिबद्धता : योग्यता, स्वाच्छता र निष्पक्षता–लोकसेवा आयोग ।’

loksewa 2

लोकसेवा आयोगले संसदीय समितिको निर्देशनविरुद्ध सर्वोच्चमा रिट परेको छ । उक्त रिटको असार ३ गते छलफल हुँदैछ । संवैधानिक प्रावधानअनुसार आयोगले विज्ञापन गर्ने कूल सीटमध्ये ५५ प्रतिशत खुल्ला र ४५ प्रतिशत आरक्षणलाई शतप्रतिशत मानेर विभिन्न समूहअनुसार कोटा निर्धारण गनुपर्ने थियो ।

तर, आयोगले खुलाइएको विज्ञापनमा एक तिहाई पनि आरक्षण राखिएको छैन । बरु, आफ्नो गल्ती महसुस गरेर विज्ञापन सच्याउनुको सट्टा आयोग अझै निष्पक्ष र पारदर्शी भएको भन्दै नागरिकमा धुमिलिएको छवी फर्काउन कोशिस स्वरुप सन्देश प्रवाह गरिरहेको छ ।


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७