कतिपयलाई नबुझेर ‘कन्फ्युज’ लागे पनि पार्टी एकता प्रष्ट लक्ष्य र सिद्धान्तसहित : प्रचण्ड


२ असार २०७६, सोमबार
Prachand pusopa kamak daha पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, २ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने प्रष्ट लक्ष्य लिएको दावी गरेका छन् ।

अध्यक्ष दाहालले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको बताएका छन् । उनले दुई पार्टीबीचको एकता पैष्ट लक्ष्य र सिद्धान्तसहित भएको स्पष्ट पारेका छन् ।

‘जनताको जनवादी कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासको नयाँ प्रगतितिर लैजाने बडो प्रष्ट लक्ष्यका साथ पार्टी एकता गरिएको हो’, अध्यक्ष दाहालले भने, ‘कतिपय मानिसहरु त्यो लक्ष्यलाई राम्रोसँग नबुझेर ‘कन्फ्युज’ पनि हुन सक्छन्, तर हाम्रो पार्टीको दुवै धारका नेताहरुले सर्वसम्मतिले तयार पारी पार्टी सचिवालय र स्थायी समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद र एक्काइसौैँ शताब्दीको जनवाद दुवैका सकारात्मक पक्षलाई अघि बढाउँदै लैजाने उल्लेख गरिएको छ ।’

जनयुद्धकालका शहीद रितबहादुर खड्काको १७ औं स्मृतिको अवसर पारेर सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले शहीदहरुको सपनालाई साकार पार्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको दाबी पनि गरे । अध्यक्ष दाहालले तत्कालीन माओवादीका केन्द्रीय सदस्य रितबहादुर खड्कालाई एउटा गतिशील नेताको रुपमा पनि चित्रण गरेका छन् ।

अध्यक्ष दाहालले आजको युग सुहाउने गरी पार्टीको सिद्धान्तलाई परिमार्जन र विकसित गर्दै लैजानुपर्ने बताएका छन् । अध्यक्ष दाहालले दुई पार्टीबीचको एकताबाट ऐतिहासिक र असाधारण कामको शुरुवात भएको दोहोर्‍याउँदै निरास नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७