एनआईसी एशिया बैंककोे सिरहामा ३२ औं शाखारहित बैंकिङ्ग सेवा


२ असार २०७६, सोमबार
nic asia

सिरहा, २ असार । एनआईसी एशिया बैंकले सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलमा आफ्नो ३२ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

शाखारहित बैंकिङ्ग सेवाको धनगढीमाइ नगरपालिकाका मेयर हरिनारायण चौधरीले उद्घाटन गरेका छन् । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा भोगिलाल महतो नियुक्त भएका छन् ।

बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै स्थानीय तहमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न क्षेत्रका स्थानीयबासीले आफ्नो स्थानीय तहमै प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्ने जनाइएको छ । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तै : टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७