बजार नियन्त्रित अर्थतन्त्रको नाममा बजारलाई छाडा छाडियो : जनार्दन शर्मा

‘विदेशी राजदूतहरुले कसलाई हामी थुन्छौ, कसलाई के गर्छौ भनेर भन्न पाइन्छ कि पाइँदैन ?’


२ असार २०७६, सोमबार
Janardan Sharma जनार्दन शर्मा Prabhakar is a Nepalese politician belonging to the Communist Party of Nepal

काठमाडौं, २ असार । सत्तारुढ दलका सांसद जनार्दन शर्माले बजार नियन्त्रित अर्थतन्त्रको नाममा सबै बजारलाई छाडा छोड्ने काम भएको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै सांसद शर्माले विश्वव्यापीकरणलगायतका नाममा सबै बजार छाडा छाड्ने काम भएको भन्दै अनुगमन, नियन्त्रण र नियमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । उनले अखाद्य वस्तु आयातमा रोक लगाउन पनि माग गरे ।

उनले सञ्चार मन्त्रालयलाई नेपाल टेलिकमको सेवा गुणस्तरीय बनाउन आग्रह समेत गरेका छन् । उनले प्रविधिको नाममा ग्राहकलाई दुःख दिने काम बन्द गरी प्रविधिको विकल्प प्रविधि खोजी समस्या समाधान गर्न आग्रह गरे ।

फ्रिक्वेन्सी बाँडफाँडबारे समय–समयमा चर्चा हुने गरेको भन्दै उनले नेपाल टेलिकम जस्तै अर्को सरकारी संस्था बनाउन सरकारलाई सुझाव दिए । उनले असंलग्न परराष्ट्रनीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

असंलग्न परराष्ट्रनीति स्पष्ट नभएकाले जनता दोधारमा परेको भन्दै उनले सरकारको दृष्टिकोण स्पष्ट हुनुपर्ने बताए । कतै पनि नढल्किइकन सरकार दृढतापूर्वक राष्ट्रिय हितमा उभिनु पर्नेमा उनले जोड दिए । विभिन्न देशका लागि नियुक्त गरिएका राजदूतले गर्ने काम, कर्तव्य र अधिकार तथा नियुक्तिको मापदण्डमा ध्यान पुर्‍याउन सरकारको ध्यानाकर्षण गरे ।

नेपालस्थित विभिन्न मुलुकका राजदूतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्दा पनि त्यसबारे परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया नजनाएको भन्दै उनले त्यसतर्फ मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘नेपालस्थित विभिन्न मुलुकका राजदूतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्नु भएको छ । यसको बारेमा परराष्ट्रले के गर्‍यो खै ? हामीले केही जानकारी पाएनौँ । परराष्ट्रलाई केही थाहा छ कि छैन ? उहाँहरु त्यसरी बोल्ने हो कि होइन ? कसलाई हामी थुन्छौ, कसलाई हामी के गर्छौ भनेर भन्न पाइन्छ कि पाइँदैन ? यसको बारेमा के गर्‍यो परराष्ट्रले जनताले थाहा पाउनु पर्दैन त्यो कुरा ?’ नेपाल कुनै देशको निर्देशनमा नचल्ने भन्दै उनले विदेशी कुटनितिकज्ञहरुबाट हुने हस्तक्षेपकारी कार्य रोक्न समेत माग गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७