नेपाली स्याट–१ ले थाल्यो पृथ्वीको परिक्रमा, यसले के गर्छ ?


२ असार २०७६, सोमबार
satelliteee

काठमाडौं, २ असार । नेपाली स्याटेलाइट ‘नेपाली स्याट–१’ ले पृथ्वीको परिक्रम शुरु गरेको छ । गएको वैशाख ५ गते अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको स्याट–१ ले सफलतापूर्वक पृथ्वीको परिक्रमा शुरु गरेको छ । सोमबार अपरान्ह ४ बजेर १९ मिनेटबाट सो स्याट–१’ अन्तरिक्षमा रिलिज हुँदै पृथ्वीको वरपर घुम्न शुरु गरेको हो ।

जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टीच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको यो स्याटेलाइट वैशाख ५ राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको थियो ।

अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण भएको थियो । स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाइएको हो ।

यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको छ । स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ ।
यो एक किलो तीन सय ग्राम तौलको छ । यसमा सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ । अन्तरिक्षमा रिलिज भएपछि यसले अन्तरिक्षबाट तस्वीरसहितका डाटाहरु पठाउन थाल्नेछ । यसले मौसमी सूचनाहरु पनि दिन सक्छ ।

स्याटेलाइट अन्तरिक्षमा पुगेपछि नेपालले पनि अध्ययन अनुसन्धान थाल्न सक्ने दावी सरकारी अधिकारीहरुको छ । स्पेश इन्जिनियरिङको अध्ययन गर्ने विद्यार्थीलाई पनि यसले निकै सहयोग पुग्ने छ । उनीहरूलाई नेपालमै बसेर स्पेशबारे जानकारी लिने अवसर मिल्ने छ । यो स्याटेलाइटबाट नेपालले भविष्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव पनि प्रदान गर्ने नेपाल वित्रान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को भनाइ छ ।

स्याट–१ ले के गर्छ ?
यो भूउपग्रह ठूलो नभएर नानो भू–उपग्रह हो । यो १यू–क्यूब–स्याट (लम्बाई, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर भएको) नानो स्याटलाइट हो । ‘स्याटलाइट सर्भिस ओरिन्टेट नभएर डेमोनस्ट्रेसन र रिसर्च ओरिन्टेट हो । अहिले स्याटलाइटले तस्बिर लिन सक्ने नाष्टले जनाएको छ । अन्तरिक्षमा चुम्बकीय शक्तिको अध्ययन गर्न र रिमोट सेन्सिङ र अन्य सामान्य किसिमका काम मात्र गर्न सकिने छ ।

यो स्याटेलाइट पठाउन लागेको खर्च सरकारले नै ब्यहोरेको छ । नेपाली स्याटेलाइट(वानले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चार पटक नेपालको आकाशमा आउने छ ।

भविष्यमा नेपालले ठूला क्षमताका आफ्नै भूउपग्रह पठाउने गरी बनाएका योजनामा पनि यसले सहयोग पुग्ने दावी गरिएको छ । यो भूउपग्रको प्रक्षेपणपछि नेपाली इन्जिनियरहरुको क्षमता पनि विकास हुने र त्यसले राष्ट्रलाई नै लाभ दिने नाष्टको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७