सरकारी जग्गा दर्ता गर्ने १६ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर


२ असार २०७६, सोमबार
ciaa

जुम्ला, २ असार । गुठीचौरस्थित गुठीचौर भेंडाबाख्रा फारमको नाममा नाप नक्सा भई फिल्डबुक कायम भएको ९३ हजार सरकारी जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गर्ने मालपोत कार्यालयका तत्कालीन प्रमुख गोविन्दप्रसाद न्यौपानेसहित १६ जनाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान विभागले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

न्यौपानेलगायतका कर्मचारीहरुले नापी कार्यालय र भेंडा फारमसँग मिली करिब ९३ हजार बर्गमिटर क्षेत्रफल रहेको उक्त जग्गा व्यक्तिको नाममा बाँडफाँड गरेको थिए । भूमिसुधार ऐन, २०२१ विपरीत सरकारी जग्गा गलत नियतले हदबन्दीभन्दा बढी दर्ता गर्नुका साथै जग्गा बिक्री वितरणसमेत गरी प्राप्त अधिकारको दुरुपयोग गरेको अख्तियारको ठहर छ । जुम्लाको साबिक गुठीचौर गा.वि.स. वडा नं ६÷द को साविक कि.नं.३ को फिल्डबुकमा उक्त भेंडा तथा बाख्रा कार्यक्रमको नाममा जनिएको सरकारी जग्गा लिनेखाने दूषित मनसायले अभिप्रेरित भई द्वन्दकालमा जली नष्ट भएको सक्कल फाइललाई हरिहर न्यौपानेको निवेदन दिन लगाइएको थियो । न्यौपानेबाट निवेदन दिएर पुनः उजागर गरी गराई एकआपसमा मिलेमतो गरी भेंडा तथा बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख प्राविधिक कर्मचारी यमुनाकुमार श्रेष्ठलाई अनुचित प्रभावमा पारी उनलाई मालपोत कार्यालय जुम्लामा हाजिर हुन लगाए । र, यमुनाकुमार श्रेष्ठले समेत आफ्नो अधिकार क्षेत्रको कुनै हेक्का नराखी, गैरकानूनी मिलापत्र गर्ने कार्य गरी सोको आडमा उक्त सरकारी सार्वजनिक जग्गा हरिहर न्यौपानेसमेतका १५ जना व्यक्तिको नाममा हक हस्तान्तरण गरेका थिए ।

यस्तो गैरकानूनी कार्यमा सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक सरकारी कर्मचारीहरू नासु (कार्यालय प्रमुख) गोबिन्दप्रसाद न्यौपाने, तत्कालीन खरिदार हाल मालपोत कार्यालय चावहिलका नासु बिजय शर्मा न्यौपाने र तत्कालीन भेंडा तथा बाख्रा अनुसन्धान कार्यक्रम गुठीचौर जुम्लाका कार्यालय प्रमुख यमुनाकुमार श्रेष्ठबिरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
राष्ट्रसेवक सरकारी कर्मचारीहरूसमेतलाई अनुचित प्रभावमा पारी गैरकानूनी तरिकाबाट उक्त जग्गा आ(आफ्नो नाममा दर्ता गर्ने कार्यमा प्रत्यक्ष रुपमा संलग्न भएका जग्गा दर्ता गरी लिने हरिहर न्यौपाने, मुनिशचन्द्र न्यौपाने, मायालाल न्यौपाने, बिष्णु न्यौपाने, बिष्णुऋषि न्यौपाने, बिष्णुलाल न्यौपाने, पार्वती न्यौपाने, नवऋषि न्यौपाने, धनप्रसाद न्यौपाने, देवेन्द्रप्रसाद उपाध्याय, जानकीदत्त देवकोटा, गोमा न्यौपाने, केशवराज न्यौपाने, कविदत्त न्यौपानेबिरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

कार्यालय प्रमुख न्यौपाने, खरिदार बिजय शर्मा र यमुनाकुमार श्रेष्ठसँग ४५ लाख बिगो दाबी गरिएको छ । त्यस्तै हरिहर न्यौपानेसँग २ लाख २५ हजार, मुनिशचन्द्र न्यौपाने र मायालाल न्यौपानेसँग ३ लाख बिगो दाबी गरिएको छ । बिष्णु न्यौपानेसँग ४ लाख ९५ हजार, बिष्णुऋषि न्यौपानेसँग ३ लाख, बिष्णुलाल न्यौपानेसँग ३ लाख र पार्वती न्यौपानेसँग ५ लाख २२ हजार ७ सय ५० बिगो दाबी गरिएको छ ।

त्यसैगरी अख्तियारले नवऋषि न्यौपानेसँग ३ लाख, देवेन्द्रप्रसाद उपाध्यायसँग १ लाख ९९ हजार ९ सय ५० रुपैयाँ, जानकीदत्त देवकोटासँग ३० हजार, गोमा न्यौपानेसँग ५ लाख २७ हजार २ सय ५० रुपैयाँ, केशवराज न्यौपानेसँग २ लाख २५ रुपैयाँ र कविदत्त न्यौपानेसँग ३ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७