वर्ष बिराएर लाग्ने आँखाको महामारी फैलिन्दै


प्रकाशित मिति : September 28, 2017

काडमाडाैं : राति सुतिरहेका बेला बत्तीमा झ्याम्मिने सेतो पुतली गालामा खसेपछि पोखराका रोजन सुनारको आँखा एकैछिनमा रातो भयो । हल्का रातोबाट सुरु भएको आँखाको समस्या सुनिने, हेर्नै नसक्ने भएपछि ४६ दिने शिशु रोजनलाई पोखरा आँखा अस्पताल पुर्‍याइयो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) को बीपी कोइराला नेत्र रोग अध्ययन केन्द्रमा लगियो ।

परीक्षणपछि थाहा भयो– उनलाई सिजनल हाइपरएक्युट पनुभिआइटिस (सापु) भएको रहेछ । सापु हालसम्म नेपालमा मात्र देखिने एक प्रकारको आँखा रोग हो । कोइराला नेत्र रोग अध्ययन केन्द्रकी आँखा रोग विशेषज्ञ डा। रञ्जु खरेल सिटौलाका अनुसार सापु नेपालका केही पहाडी र हिमाली जिल्लामा मात्र देखिने एक प्रकारको नसर्ने रोग हो । र, यो विशेष प्रकारको सेतो पुतलीका कारण हुने भए तापनि यसको वास्तविक कारण अझै पत्ता लगाउन नसकिएको डा। खरेलले बताइन् । नेपालमा यो रोगबारे विभिन्न अध्ययन, अनुसन्धान भइरहेको केन्द्रका निर्देशक डा। आनन्दकुमार शर्माले बताए ।

नेपालबाहेक अन्य कुनै पनि देशमा यो रोग नदेखिएको विशेषज्ञहरू बताउँछन् । ४२ वर्षअघि सबभन्दा पहिला यो रोग पोखरामा भेटिएको थियो । ‘सुरुमा यसलाई आँखा पाक्ने रोग भनेर चिनिन्थ्यो, पछि डा। मदन उपाध्यायले यसलाई सापु नाम दिनुभयो,’ डा। खरेलले भनिन् ।

हरेक दुई वर्षमा पहाडी भेगका सेतो पुतलीले बालबालिकालाई बढी आक्रमण गर्ने गरेको डा। मदन उपाध्यायले बताए । हालसम्म यो रोगबाट प्रभावित बिरामीमध्ये ६० प्रतिशत बालबालिका नै देखिएको उनले बताए । ‘प्रारम्भिक अध्ययनबाट रोगको कारण सेतो पुतली हो भन्ने लागेको छ, प्रमाणित भने भइसकेको छैन,’ डा। उपाध्यायले भने, ‘आएका बिरामीसँग कुराकानी गर्दा सबैले सेतो पुतलीको सम्पर्क बताएका थिए, जाँच गर्दा उनीहरूको आँखामा सेतो पुतलीका रौं पनि भेटियो ।’

हरेक दुई वर्षको अन्तरालमा वर्षायाम रोकिएपछि यो रोग लाग्ने मौसम सुरु हुन्छ । यससँगै बीपी कोइराला नेत्र रोग अध्ययन केन्द्रमा यो रोग लिएर आउने बिरामीको आउने क्रम बढन थालेको छ । यस वर्ष पनि १५ दिनदेखि यसका बिरामीहरू केन्द्रमा भर्ना हुन थालेका छन् । हालसम्म १० जना बिरामी उपचारका लागि आएको केन्द्रको तथ्यांक छ । बिरामी अझै बढ्ने केन्द्रका चिकित्सकहरूको अनुमान छ । कुल बिरामीमध्ये अधिकांश ५ वर्षमुनिका बालबालिका रहेको डा। खरेलले बताइन् । यो रोगबारे मानिसमा चेतना नभएकाले अधिकांश बिरामीहरू ढिलो गरी अस्पताल आइपुग्ने गरेको उनले बताइन् ।

सापुले आँखामा हुने भित्री पत्रलाई असर गर्छ । पुतली सम्पर्कमा आएसँगै आँखामा पिप जम्दै जाने भएकाले आँखाको पर्दा च्यातिने गर्छ । ‘समयमा उपचार भएन भने यसले आँखालाई सुकाउँदै लैजान्छ, ‘उनले भनिन्, ‘आँखाको बनोट त बिग्रन्छ नै, दृष्टि गुम्ने पनि हुन्छ ।’

एउटा आँखा रातो हुनु, भित्री भागमा पिप भरिनु, छोटो समयमा ज्योति कम हुँदै जानु, आँखा पाकेजस्तो देखिनु सापुका मुख्य लक्षण हुन् ।

लक्षण देखिनेबित्तिकै सक्दो चाँडो नजिकको आँखा अस्पताल वा उपचार केन्द्रमा गएर उपचार गराइहाल्न आँखा रोग विशेषज्ञहरूले सुझाएका छन् । अस्पतालको पहुँचमा नभएका बिरामीले टिचिङ परिसरस्थित बीपी कोइराला नेत्र रोग अध्ययन केन्द्रको सम्पर्कमा आउन केन्द्रले अनुरोध गरेको छ । सहजताका लागि केन्द्रले हटलाइन नम्बरको व्यवस्था गरेको छ ।

 –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्