नेकपा एकता : जिम्मेवारी बाँडफाँडमै ‘सकस’

सचिवालयको नयाँ समीकरण समेत कार्य बिभाजन ढिलाइका लागि कारक


३ असार २०७६, मंगलवार
Kp Oli pm of nepal Puspa kamal dahal prachand nad madhav kumar nepal

-सन्तोष साह
काठमाडौं, ३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकताको बाँकी काम टुङ्गो लगाउन शीर्ष नेतालाई ‘सकस’ परेको छ ।

सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनको एकता टुङ्गो लगाएको नेकपामा अहिले जिम्मेवारी बाँडफाँडमा लफडा शुरु भएको छ । पोलिटव्युरो कमिटी, केन्द्रीय सदस्यहरुको कार्यबिभाजन, बिभाग गठन अझै टुङ्गो लागेको छैन् । जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, बिभाग, आयोगको नेतृत्व टुङ्गो लगाउने बिषयमा पार्टीभित्र तीब्र बिवाद छ ।

३ जेठ २०७५ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरण भएको थियो । महत्वपूर्ण एवं जटिल काम टुङ्गो लागे पनि बिभाग, स्थानीय तह, पोलिटव्यूरो कमिटी तथा केन्द्रीय सदस्यहरुको कार्य बिभाजन, आयोग गठनदेखि जिल्ला इञ्चार्ज, सहइञ्चार्जको टुङ्गो लगाउन अझै सकिएको छैन् ।

पोलिटव्यूरो कमिटी गठन, केन्द्रीय सदस्यहरुको कार्यबिभाजनसहित संगठन विभाग, स्कुल विभाग, विदेश विभाग, प्रचार–प्रसार विभाग र आर्थिक विभागमा कसलाई जिम्मेवारी दिने भन्ने बिषयमा शीर्ष नेताहरुका बीचमै बिवाद छ ।

पोलिटव्यूरो गठनसहित जिम्मेवारी बाँडफाँड गर्ने भनेर शीर्ष तहमा छलफल भए पनि उपलब्धी शून्य रहेको छ । नेकपा स्रोतका अनुसार शीर्ष नेताहरुकै बीचमा कुरो मिलाउन बाँकी रहेको छ । शीर्ष नेताकै बीचमा कुरो नमिलेपछि यी बिभिन्न महत्वपूर्ण काम टुङ्गो लाग्न नसकेको नेकपा स्रोतले जनाएको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचमा जिम्मेवारी बाँडफाँडका बिषयमा छलफल जारी रहेको छ । शीर्ष नेताबीचमा कुरो मिलेपछि सचिवालय बैठक बसेर त्यसलाई टुङ्गो लगाउने नेताहरु बताउँछन् ।

७७ वटै जिल्लाको अध्यक्ष र सचिव टुङ्गो लागे पनि इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउनमा शीर्ष नेतृत्वबीचमा रस्साकस्सी चलिरहेको नेकपा स्रोतको दावी छ । नव गठित नेकपाको ९ सदस्यीय सचिवालयमा नयाँ समीकरण बनेसँगै कार्य बिभाजनमा ढिलाई भएको छ ।

सचिवालयमा एकातिर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली, महासचिव विष्णु पौडेल र रामबहादुर थापा छन् भने अर्कोतिर अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् ।

दाहाल गुट परिवर्तन गर्दै पछिलो समय थापा ओली खेमामा पुगेपछि ओलीले उनलाई संगठन बिभाग प्रमुख बनाउनु पर्ने पक्षमा उभिएका छन् । तर, संसदीय निर्वाचनमा पराजित र सरकारी जिम्मेवारीबिहीन वामदेव गौतमलाई नेपाल र दाहालले संगठन बिभाग प्रमुख दिनुपर्ने अडान लिएका छन् ।

गौतम केही समय पहिलासम्म ओली खेमामै थिए । तर, पछिल्लो समय थापा जस्तै उनी पनि नेपाल र दाहाल खेमामा पुगेका छन् । थापा गृहमन्त्री समेत भएकाले संगठन बिभागका लागि गौतम उपयुक्त रहेको दावी नेपाल र दाहाल समूहको छ ।

यसैगरी स्कुल विभागका लागि ओली समूहबाट ईश्वर पोखरेल र नेपाल, दाहाल समूहबाट श्रेष्ठलाई अघि सारिएको छ । प्रचार विभागमा प्रवक्ता श्रेष्ठसँगै योगेश भट्टराई, पम्फा भुषाल पनि दाबेदार छन् । बिदेश विभागको प्रमुख माधवकुमार नेपाललाई बनाउन ओलीसहित शीर्ष नेता सहमत छन् । बिदेश बिभागको नेतृत्वमा बिवाद देखिएको छैन् ।

अर्का वरिष्ठ नेता खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिनुपर्ने नेपाल पक्षको माग रहेको छ । महासचिव समेत रहेका पौडेललाई महत्वपूर्ण बिभाग दिनुपर्ने ओली समूहको अडान छ । नेकपा स्रोतका अनुसार पोलिटव्यूरो गठनका लागि तत्कालीन एमालेको तर्फबाट नामावली तयार भए पनि तत्कालीन माओवादी केन्द्रतर्फको नामावली टुङ्गो लाग्न नसक्दा ढिलाई भएको छ ।

नेकपामा ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । पार्टीको अन्तरिम बिधान अनुसार केन्द्रीय कमिटीको एक तिहाई अर्थात १४७ जनाको पोलिटब्यूरो कमिटी बनाउनु पर्छ । जसमा तत्कालीन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागबण्डा गर्ने सहमति शीर्ष नेताबीचमा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७