कांग्रेसले संसद अवरोध गर्नु इतिहासकै ‘अनैतिक’ कार्य : सत्तापक्ष

संसदमा बोल्न नपाउँदा प्रधानमन्त्री दुःखित


३ असार २०७६, मंगलवार
kp sharma oli pm

-सन्तोष साह
काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमण, गुठी बिधेयकसहित जनचासो समसामयिक बिषयका बारेमा संसदलाई जानकारी गराउन नदिएको भन्दै दुःख व्यक्त गरेका छन् ।

‘प्रतिपक्षी नेकाले रोष्ट्रम घेरी अबरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी विधेयकलगायतका समसामयिक विषयहरुमा रहेको जनचासोका सन्दर्भमा सम्मानीत सदनलाई आज जानकारी गराउन पाइनँ,’ प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटरमार्फत भनेका छन, ‘यस घटनाबाट म दुःखी भएको छु ।’

मंगलबार विहान प्रतिनिधि सभामा उनले युरोप भ्रमण र गुठी विधेयकका विषयमा जानकारी दिन लाग्दा प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै होहल्ला गरेको छ । प्रधानमन्त्री र प्रतिपक्षीमध्ये को पहिला बोल्ने विषयमा सहमति हुन नसक्दा कांग्रेसले संसद अवरुद्ध गरेको थियो । संसद अवरुद्ध गरेपछि सभामुख कृष्णबहादुर महराले संसद बुधबारसम्मको लागि स्थगित गरेका छन् ।

इतिहासकै अनैतिक कार्य–सत्तापक्ष

यूरोप भ्रमण, गुठी बिधेयकलगायत समसामयिक बिषयबारेमा संसदलाई जानकारी गराउन नदिई प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेपछि सत्तारुढ दलले इतिहासकै अनैतिक कार्य भन्दै टिप्पणी गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कांगेसले इतिहासकै अनैतिक कार्य गरेको टिप्पणी गरेका छन् । संसदीय व्यवस्था, लोकतन्त्रको दुहाई दिने कांग्रेसको संसद अवरोध गर्ने काम इतिहासकै अनैतिक कार्य भएको उनले बताए ।

मंगलवारको प्रतिनिधिसभा बैठकमा समय माग गरी युरोप भ्रमण, गुठी विधेयकलगायतका समसामायिक विषयमा सम्वोधन गर्न रोष्ट्रममा पुगेका प्रधानमन्त्री ओलीलाई बोल्न नदिएर कांग्रेसले संसदमा अनैतिक कार्य प्रर्दशन गरेको उनले बताए ।

प्रतिनिधिसभामा प्रधानमन्त्री वा मन्त्रीले बोल्नका लागि समय माग गरेपछि सभामुखले शुरुमा नै बोल्ने मौका दिने प्रचलन अहिलेसम्मको रहेको छ । प्रधानमन्त्री वा मन्त्रीले बोलेपछि मात्रै संसदको अन्य कारवाही शुरु हुने परम्परा रहँदै आएको छ । त्यो परम्परा विपरित प्रमुख प्रतिपक्ष दलले अवरोध गरेकोप्रति आक्रोश पोख्दै पूर्व प्रधानमन्त्री नेपालले गैरसंसदीय अभ्यास गर्न खोजेको आरोप लगाए ।

‘संसदीय परम्परामा प्रधानमन्त्रीले समय मागेपछि पहिला प्रधानमन्त्रीले नै बोल्न पाउनु पर्छ, यो संसदीय परम्परा हो,’ नेपालले भने, ‘कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिई संसद अवरुद्ध गरेर गैरसंसदीय अभ्यास शुरु गर्‍यो ।’

प्रधानमन्त्री सम्बोधन गर्न रोस्ट्रममा गएपछि प्रतिपक्षी दल कांग्रेसका सांसदले होहल्ला गर्दै रोस्ट्रम घेरेर संसद अवरुद्ध गरेका थिए । सभामुखले पटक–पटक प्रधानमन्त्री बोलिसकेपछि बोल्न समय दिइने जानकारी दिंदा समेत कांग्रेस सांसदको होहल्ला बन्द नभएपछि संसद बैठक बुधबारसम्मका लागि स्थगित गरिएको थियो ।

समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेसले प्रधानमन्त्रीलाई समसामयिक बिषयमा संसदलाई जानकारी गराउन अवरोध गर्नु संसदीय अभ्यास बिपरीत भएको बताए ।

‘कसले पहिला बोल्ने भन्ने विवादले संसद अवरुद्ध भयो । यो राम्रो परम्परा होइन । यसले गलत संसदीय अभ्यास गरायो,’ डा. भट्टराईले भने ।

नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद योगेश भट्टराईले संसद अवरुद्ध गरेर कांग्रेसले संसदीय इतिहासमै सबैभन्दा अनैतिक कार्य गरेको बताए । ‘कांग्रेस आफूलाई संसदीय व्यवस्थाको पक्षपाती भन्छ । तर मंगलबार कांग्रेसले संसदीय व्यवस्थाविरुद्ध धावा बोल्यो । यो संसदीय इतिहासकै अनैतिक कार्य हो,’ भट्टराईले भने ।

समाजवादी पार्टीका महासचिव रामसहाय यादवले कांग्रेसको संसद अवरोध गर्ने काम संसदीय अभ्यास विपरीत भएको बताए । महत्वपूर्ण बिषयमा सम्बोधन गर्न नदिई कांग्रेसले संसदको महत्वपूर्ण समय खेर फालेको बताउँदै संसदलाई बन्धक बनाउन नमिल्ने बताए ।

लोकतन्त्रको वकालत गर्ने भन्दै नथाक्ने कांग्रेसको संसद अवरोध गर्ने कार्य लोकतान्त्रिक व्यवस्था विपरीत रहेको उनले बताए ।

देउवा भन्छन्, ‘प्रधानमन्त्री बोलेपछि मैले के बोल्ने ?’

विपक्षी दलको नेता कि प्रधानमन्त्रीले पहिला बोल्ने भन्ने विवादका कारण मंगलबार संसद अवरुद्ध भयो । आफ्नो दलको नेतालाई बोल्न नदिइ प्रधानमन्त्री केपी शर्मा ओलीलाई समय दिएको भन्दै कांग्रेसका सांसदहरुले अवरोध गरे ।

विपक्षीको नाराबाजीका कारण रोष्टममा पुगेका प्रधामनमन्त्री ओली समेत सम्बोधन नगरी फर्किए । बैठकपछि कांग्रेस नेता देउवाले विपक्षी दलको नेताले बोलेपछि प्रधानमन्त्रीले जवाफ दिने प्रचलन नै भएको बताए । उनले भने, ‘विपक्षीले पहिले बोल्छ, जवाफ दिने प्रधानमन्त्रीले हो । पहिले प्राधनमन्त्री बोलेपछि मैले के बोल्ने ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७