रिहा भए पनि विप्लवका नौं कार्यकर्ताले छोडेनन् अदालत


४ असार २०७६, बुधबार
biplaw

पोखरा, ४ असार । उच्च अदालत पोखराको आदेशमा रिहा भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नौं कार्यकर्ताले अदालत परिसर छोड्न सकेका छैनन् ।

थुनामुक्त भए लगत्तै प्रहरीले पक्राउ गर्ने डरले उनीहरुले मंगलबार रातभर उच्च अदालत पोखराको परिसरमै बिताएका छन् । एक पटक थुनामुक्त भएर अदालत परिसर बाहिर निस्केपछि पुनः प्रहरीले पक्राउ गरेको भन्दै उनीहरु यो पटक मंगलबारदेखि अदालत परिसरमै बसिरहेका हुन् ।

पुनः पक्राउ परेका उनीहरुलाई उच्च अदालत पोखराले मंगलबार रिहा गरेको थियो । अदालतले थुनामुक्त गर्न आदेश दिएपछि चन्दका कार्यकर्ताहरुले मानवअधिकार आयोग कास्कीका अधिकृत ज्योतिप्रसाद घिमिरे, टंक खनाल र नेपाल बार एशोसिएसन उच्च अदालतका अध्यक्ष रोहितराज बास्तोलाको रोहबरमा छुटेको व्यहोरासहितको कागजातमा सहिछाप गरेका छन् ।

उनीहरुलाई पक्राउ गर्न प्रहरी उच्च अदालत नजिकै बसेका कारण उनीहरु अदालत परिसर बाहिर निस्कन सकेका छैनन् । प्रहरीले गैरकानुनी तरिकाले पक्राउ गरेको भन्दै आफूहरु बाहिर निस्कन नसकेको चन्दका कार्यकर्ता जंगबहादुर भण्डारीले बताएका छन् ।

थनामुक्त भएकाहरुमा भण्डारीसहित प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मिलन राई छन् । २५ दिनअघि अन्नपूर्ण गाउँपालिकामा बैठक बसिरहेको बेला प्रहरीले उनीहरुसहित २१ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये अरु रिहा भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७