प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु, रूकुमको बजेट झापा पठाइयोस् : जनार्दन शर्मा


४ असार २०७६, बुधबार
Janardan Sharma जनार्दन शर्मा Prabhakar is a Nepalese politician belonging to the Communist Party of Nepal

काठमाडौं, ४ असार । सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटमा विपक्षी दलका सांसदहरु मात्र होइन स्वयम् सत्तारुढ दलका सांसदहरुले नै चित्त बुझाउन सकेका छैनन् ।

बुधबारको प्रतिनिधिसभाको वैठकमा प्रतिपक्षी दलका सांसदहरुले मात्र होइन, सत्तारुढ दलका सांसदले नै बजेट वितरणमा असन्तुलन भएको भन्दै गुनासो मात्र होइन आक्रोश समेत व्यक्त गरेका छन् । विपक्षी दलका सांसदले मात्र होइन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले नै यस पटकको बजेट प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित गरेको आरोप लगाए ।

सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले बजेट विनियोजनको तरिकाप्रति आपत्ति जनाउँदै अझै नपुगेको भए आफ्नो क्षेत्रमा हालिएको बजेट पनि प्रधानमन्त्रीको निर्वाचन क्षेत्र झापामा लैजान सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको वैठकमा विनियोजन विधेयकमाथि भएको छलफलमा भाग लिँदै शर्माले श्रम, उर्जा र भौतिक पूर्वाधार मन्त्रालयले छुट्टाएको बजेटप्रति असन्तुष्टि जनाएका छन् । उनले देशमै रोजगारी सिर्जना गर्नुको सट्टा युवालाई विदेश जानेतर्फ प्रोत्साहन गरिएको भन्दै सरकारी नीतिको आलोचना समेत गरेका छन् ।

उनले भने, ‘श्रम सहकारी गठन होला, हजारौं युवालाई काम दिइएला भन्ने सोचेको, हरेक गाउँ आत्मनिर्भर बनाऊ भन्ने नारा आउँला भन्ने सोचेको तर अहिले विदेशमा कहाँ के सम्झौता भयो भनेर छाती फुलाउने अवस्था छ । देशको शीर निहुरिएको छ, म दुःखी छु ।’

सत्तारुढ सांसद भएकाले धन्यवाद भन्नुपर्ने आफ्नो कर्तव्य भएको भन्दै उनले ‘मन्त्री ज्यूलाई धन्यवाद ।’ पनि भने । उर्जा मन्त्रालयको बजेटप्रति असन्तुष्टि जनाउँदै शर्माले, आफ्नो नेतृत्वमा लोडसेडिङ अन्त्य गर्दा आफूले सजाय पाउन थालेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘मेरो जिल्लाका जनताले मलाई भने गत वर्ष त भुल भयो भनिस्, यो वर्ष के भयो ? फेरि अध्यारोमा बस्नु पर्ने भयो, त्यसका लागि म मन्त्रीजीलाई धन्यवाद दिन चाहन्छु ।’ उनले विनियोजित २ करोड रकम अपुग हुने भएकाले अर्को २ करोड थपिदिन आग्रह गरे ।

भौतिक पूर्वाधार मन्त्रालयको बजेटप्रति आक्रोशित उनले भने, ‘२४० लेखेको छ । करोड हो कि लाख ?’ ‘२ करोड ४० लाख भए पनि २ लाख ४० हजार भए पनि यो शीर्षक रुकुमबाट हटाइयोस् । रकमान्तर गरेर झापा हालियोस् । म सम्माननीय प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु ।’ झापा मात्र किन केही बजेट जनकपुरमा मन्त्रीकै क्षेत्रमा लैजान पनि उनले सुझाव दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७