बजेटका लागि मन्त्रालय घुम्दा-घुम्दा जुत्ता फाट्यो, बजेट हेरेपछि मनै फाट्यो : सुदन किराती


४ असार २०७६, बुधबार
Sudan Kirati

काठमाडौं, ४ साउन :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद तथा नेता सुदन किरातीले बजेटमा भोजपुर जिल्लालाई अन्याय गरिएको भन्दै संघीय संसदमा तिव्र असन्तुष्टि जनाएका छन् । विनियोजित बजेट हेर्दा आफ्नो मनै फाटेको उनको भनाई छ ।

बुधबार संघीय संसदको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद किरातीले भने, ‘बजेटका लागि दिन मन्त्रालय धाउँदा जुत्ता फाट्यो, बजेट हेरेपछि मनै फाट्यो ।’ उनले बजेटमा भोजपुरका योजनाहरुलाई नसमेटिएको भन्दै सभामुख मार्फत रातो किताब मन्त्रीलाई नै फिर्ता गरेको घोषणा समेत गरे ।

बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन बजेट माथि छलफल थियो । किरातीले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र मन्त्रीप्रति तिव्र आक्रोश पोखे ।

सांसद किरातीले संघीय प्रणाली नशाले होइन जुँगाले चलेको बताए । उनले भने,‘यो संघीय प्रणाली नशाले चल्ने प्रणाली जस्तो लागेको थियो । तर, जुँगाले चलेको अनुभूति भएको छ । तर, हामीसँग जुँगा पनि छैन । र मन्त्रीज्यूँसँग गोरु बेचेको साइनो पनि नभएकोले सम्भवत हाम्रो जिल्लामा योजनाहरु परेनन् होला ।’

सांसद किरातीले राष्ट्रपति विद्यादेवी भण्डारीको गाउँको एउटै टोलको बाटो ६ ठाउँमा परेको उनले बताए । उनले राष्ट्रिय अभिभावकलाई विवादमा तान्ने काम भएको बताए । एक जिल्लामा एक रणनीतिक सडक हुनुपर्ने व्यबस्था भए पनि भोजपुरमा भने एउटा वडामा हालिएको भन्दै असन्तोष प्रकट गरे ।

 किरातीले उदयपुर र भोजपुर जोड्ने रानीटार पुललाई भोजपुर र संखुवासभा जोड्ने भनेर उल्लेख गरिएको बताए । अरुण नदीमा पुल बनाउने भनेर उल्लेख गरिएको तर स्थान नतोकिएको उनको भनाई छ । उनले भने, ‘दुईसय किलोमिटर भन्दा बढी लामो भोजपुरलाई छोएको अरुण नदीमा कहाँ लगाउने पुल ?’

तीन वर्ष अघि टेन्डर भएर शिलान्यास गरिएको भोजपुर र उदयपुर जोड्ने रानीटारको पुललाई सर्बे भनेर रातो किताबमा हालिएको बताए । उनले भने, ‘आगमी कार्तिकमा फेज आउट हुने पुललाई यो सरकारले सर्बे भनेर हालिदिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७