प्रधानमन्त्रीलाई कति अधिकार चाहिएको हो ? के अधिकार पुगेन ? : विजयकुमार गच्छदार


५ असार २०७६, बिहीबार
Bijaya kumar

काठमाडौं, ५ असार । नेपाली कांग्रेसका सांसद विजयकुमार गच्छदारले सरकारले एकपछि अर्को गर्दै नागरिकको हकअधिकार र स्वतन्त्रता खोसिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसमाको आज (बिहीबार) को वैठकमा बोल्दै सांसद गच्छदारले सरकारले एकपछि अर्को गर्दै ल्याइरहेको विधेयकले मुलुकलाई अशान्त र अस्थिरतातिर धकेलिरहेको बताएका छन् । उनले सरकारले बिना छलफल, बिना तयारी धमाधम विधेयकहरु ल्याएर लामो संघर्षबाट स्थापित नागरिकको अधिकारहरु कटौती गरिरहेको आरोप लगाए ।

उनले सरकारले गुठी विधेयक, मानवअधिकार विधेयक, मिडिया काउन्सिल विधेयक ल्याएर वाक स्वतन्त्रता र धार्मिक स्वतन्त्रतामाथि हमला गरेको बताउँदै सोधे, ‘अहिले हतारमा यतिका धेरै विधेयकहरु किन ल्याउनु पर्‍यो ?’

सांसद गच्छदारले देशमा भएका ठूला–ठूला व्यवस्था परिवर्तनमा नेपाली मिडियाहरुको योगदान अविस्मरणीय रहेको बताउँदै सञ्चार क्षेत्रको योगदानलाई कम नआँक्न सरकारलाई चुनौति समेत दिए ।

आफू सञ्चारमन्त्री हुँदा नेपाली मिडियाको विकासका लागि धेरै कामहरु गरेको बताउँदै सांसद गच्छदारले नेपाली मिडियाको मुख थुन्ने गरी सरकारले ल्याएको वियेधक तत्काल फिर्ता गर्न माग गर्दै भने, ‘मिडिया क्षेत्रको अधिकार संरक्षणका लागि हामी मर्न पनि तयार हुन्छौं, यो विधेयक पास हुन दिंदैनौं ।’

सांसद गच्छदारले सरकारले जानी जानी नागरिकको अधिकारहरु कटौती भइरहेको आरोप लगाएका छन् । उनले गुठी विधेयकले धार्मि स्वतन्त्रता कुण्ठित गर्दै नेपाली सँस्कृतिमाथि आक्रमण गरेको, मानवअधिकार विधेयक ल्याएर नागरिकको अधिकारमा प्रहार गर्न खोजिएको बताए । उनले संसदमार्फत प्रधानमन्त्रीलाई सोधे, प्रधानमन्त्री केपी ओलीलाई कति अधिकार चाहिएको हो, के अधिकार पुगेन ?’

उनले ओली सरकारले नागरिकको अपेक्षा पूरा गर्नेतर्फ भन्दा आफूमा मात्र अधिकार केन्द्रित गर्नेतर्फ अगाडि बढिरहेको आरोप लगाए । अहिले सरकारले २९ वटा विधेयक अगाडि सारेको छ । केहि संसदमा दर्ता भएका छन् भने केहि दर्ताको प्रक्रियामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७