अलोना भन्छिन्, ‘दयाहाङले बुहारी भन्दा खुशी लाग्छ’


५ असार २०७६, बिहीबार
alona

काठमाडौं, ५ असार । नेपाली माटोलाई प्रेम गर्ने, आफूलाई नेपाली माटोको उपज सम्झिने भारतीय मूलका नेपाली अर्थात् दार्जिलिङ, सिक्किम, कालिम्पोङका नेपाली भाषी भारतीय नागरिकहरू नेपाली रहनसहन संस्कृति भन्दा कति पनि पर छैनन् । उनीहरूको लागि नेपाली गीत सङ्गीत चलचित्र आफ्नो जस्तै लाग्छ र उसै गरी प्रेम र आदर गर्छन् ।

असार १३ गतेबाट नेपाल तथा भारतमा प्रदर्शनको तयारी गरिरहेको चलचित्र ‘आप्पा’ को युनिट यतिबेला प्रचारप्रसारमा ब्यस्त छ । चलचित्रमा अभिनेता दयाहाङ राईले आप्पा अर्थात् बाबुको भूमिका निभाएका छन् भने डेब्यु नायक सिद्धार्थराज तामाङलाई छोराको रूपमा देख्न सकिन्छ । उनलाई साथ दिएकी छिन् डेब्यु नायिका अलोना काबो लेप्चाले ।

प्रचारप्रसारको क्रममा नेपालमा रहेका नायक नायिकालगायत चलचित्र टिम निकै हार्दिकताका साथ आफ्नै देशमा रहेको आभास भइरहेको बताउँछन् । प्रमोसनमा समय दिइरहेका सिद्धार्थ र अलोना चलचित्रमा अनुबन्धित भएर पहिलो पटक साक्षात्कार हुँदाको पल सम्झिँदै भन्छन्, ‘पहिलो भेट निकै अप्ठेरो र कठिन भएको थियो ।’ चलचित्रमा काम गर्ने पक्का भइसकेपछि निर्देशकले एक अर्काको समीप गएर फोटो खिच्ने पोज दिँदा निकै असहज भएको अलोना बताउँछिन् ।

बिस्तारै चलचित्रको भूमिकाको लागि एक अर्कालाई सहज बनाउने क्रममा मिल्ने साथीको रूपमा एक अर्कालाई लिएपछि काम गर्दा सहज भएको उनीहरूको भनाइ छ । चलचित्रमा काम गर्दा नजिक भएका यी दुई निकै मिल्ने साथी भएको र एक अर्कालाई निकै ख्याल गर्ने र माया गर्ने गर्छन् । साथै अफ स्क्रिनमा पनि दयाहाङले अलोनालाई बुहारी भनेर जिस्काउँदा आफूलाई खुशी लाग्ने अलोनाको भनाइ छ ।

नेपालमा आफ्नो छुट्टै स्टारडम बनाइसकेका र आजका व्यस्त अभिनेता दयाहाङ राईको नेतृत्वदायी भूमिका रहेको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको आशा बढेको छ । बाबु छोराको सम्बन्धमा बनेको चलचित्र ‘आप्पा’ माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको हो ।

‘आप्पा’ मा निर्देशक अनमोल गुरुङको कथा हो, भने पटकथा तय संवाद लेखनमा उमेश उपमाको सहकार्य रहेको छ । चलचित्रमा दयाहाङ राई, सिद्धान्तराज तामाङ र अलोना काबो लेप्चाका अलावा वरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७