युवती हत्या काण्ड : पैसाकै लागि हत्या, एक युवक पक्राउ


६ असार २०७६, शुक्रबार
morder 1

पाँचथर, ६ असार । हिलिहाङ गाउँपालिका–६, भारपाको सित्ते भन्ने ठाउँमा मंगलबार साँझ हत्या गरिएकी सुजाता तामाङको हत्या आरोपी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय फिदिम पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवँर नेतृत्वको टोलीले तामाङका हत्या आरोपी हिलिहाङ–६ का १९ वर्षीय घनेन्द्र लाओतीलाई बिहीबार राति ८ बजे पक्राउ गरेको हो ।

सुजाताको हत्यापछि फरार अभियुत्त लाओतीको खोजतलास गर्ने क्रममा प्रहरीले तामाङको साथबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकुरी समेत बरामद गरेको छ ।

हिलिहाङ गाउपालिका–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्समा कार्यरत तामाङ हिलिहाङ–६, रातमाटेमा फाइनान्स समूहको बैठकसँगै व्याज र किस्ता संकलन गरेर फर्कदै गर्दा गएको मंगलबार साँझ सित्ते भन्ने ठाउँको जङ्गलको गोरेटोमा खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।

लाओती हिलिहाङ–५, स्थित गाउँमै लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । लाओतीले पैसाकै लोभमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलामको माईजोगमाई गाउँपालिका–५, घर भएकी तामाङको शव वुधबार पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७