त्रियुगा नगरपालिकामा नक्कली बमले बनायो त्रसित


६ असार २०७६, शुक्रबार
triyuga

उदयपुर, ६ असार । उदयपुरको त्रियुगा नगरपालिका कार्यालय परिसरमा शुक्रबार बिहान नक्कली कुकर बम फेला परेको छ ।

बिहान ५ बजे सफाइ कर्मचारीले नगर परिसर बढार्ने क्रममा भेटिएको झोला उठाउँदा भित्र कुकर देखेपछि शंका लागेर नगर सुरक्षा कर्मचारीलाई जानकारी गराएका थिए ।

बम भेटिएपछि केहि समय नगरपालिका परिसरमा त्रास फैलिएको थियो । कार्यालय परिसरभित्र छिरेर दाहिनेपट्टि कुनामा भेटिएको रातो रङ्गको झोलामा टेपले बाँधेको कुकर भेटिएको थियो । प्रहरी टोलीले शंकास्पद वस्तुलाई सुरक्षित गर्दै डिस्पोजका लागि नेपाली सेनालाई खबर गरेका थिए ।

त्रियुगा नगरपालिका–३, भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डाबाट खटेको डिस्पोजल टोलीले शंकास्पद वस्तु नियन्त्रणमा लिई डिस्पोज गराउँदा कुकरभित्र कपडाका टुक्रा, पिठोको लेदो, केही टुक्रा तार र टेप मात्र फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

घटनाबारे अनुसन्धान शुरु भइसकेको तर, हालसम्म कोही पक्राउ भने नपरेको उनको भनाइ छ । ‘नगरपालिका परिसरमा नक्कली बम राखेर आतंक मच्चाउने उद्देश्य लिएको देखिन्छ,’ एसपी मगरले भने, ‘हाम्रो टोली अनुसन्धानमा जुटेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७