सरकार आफ्नै दम्भले आफै अप्ठ्यारोमा पर्दैछ : डा. बाबुराम भट्टराई

‘विधेयक बनाउँदा विचार गरियोस्, राज्य केन्द्रीकरण उन्मुख हुँदैछ’


६ असार २०७६, शुक्रबार
babura

काठमाडौं, ६ असार । समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार आफ्नै दम्भका कारण आफै अप्ठ्यारोमा पर्दै गएको बताएका छन् ।

संसदमा भइरहेको बजेटमाथिको छलफल सभामा बोल्दै डा. भट्टराईले अहिले दुई तिहाइको बहुमत भए पनि सधैं रहन नसक्ने समेत सरकारलाई चेतावनी दिए ।

उनले भारतको पश्चिम बंगला, रुसलगायत देशमा दशकौं लोकप्रिय भएका पार्टीहरु बढारिएको प्रसङ्ग कोट्याउँदै ओली सरकारलाई मताधिकारको सम्मान गर्न सुझाव दिए । उनले भने, ‘म विनम्रतापूर्वक आग्रह गर्छु–दम्भ त्यागौं, अरुको कुरा सुनौं ।’ उनले अगाडि थपे, ‘ज्ञानले बोल्छ, बुद्धि सुन्छ । त्यसैले यो सरकारले पनि यस्तै काम गरोस् ।’

यसैगरी उनले सरकारलाई विधेयक ल्याउँदा सोचेर मात्रै ल्याउन आग्रह गरे । उनले सरकारले ल्याएका विधेयकहरु विवादास्पद बन्दै गएकोप्रति लक्षित गर्दै उनले भने, ‘विधेयक बनाउँदा विचार गरियोस्, राज्य केन्द्रीकरण उन्मुख हुँदैछ । गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, विज्ञापन विधेयक लगायतका विवादास्पद विधेयक खारेज गर्न माग गर्दछु ।’

यस्तै उनले सांसदलाई ल्यापटप दिएर मानमर्दन गर्न खोजिएको समेत बताएका छन् । उनले भने, ‘सांसदलाई ल्यापटप दिनै हुन्न । यो विलासिताको साधन भएकोले सांसदले आफैं किन्नुपर्छ ।’
डा. भट्टराई सरकारले ल्याएको आव २०७६–०७७ को बजेट कर्मकाण्डी खालको मात्र भएको आरोप लगाएका छन् ।

उनले नामधारी कम्युनिष्ट सरकारले ल्याएको बजेटले आर्थिक छलाङ्ग मार्ने खालको बजेट ल्याउन नसकेको आरोप लागाए । अर्थतन्त्र बुझेको अनुभवी अर्थमन्त्री भए पनि विभिन्न समस्या प्रभाव दबाबमा परेर प्रभावकारी बजेट ल्याउन नसकेको भट्टराईको भनाई छ ।

उनले दुई तिहाई बहुमतसहितको सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक समृद्धिमा ठूलो छलाङ्ग मार्ने अपेक्षा गरिए पनि बजेटपछि त्यो निरासामा परिणत भएको बताए । सभामा भट्टराईले पञ्चायतकालदेखि अहिले गणतन्त्रात्मक राज्य सञ्चालन प्रणालीमा आइपुगिसक्दा समेत बजेटको ढाँचा परिवर्तन हुन नसकेको बताए ।

‘आय व्ययको संरचना पञ्चायतदेखि अहिलेसम्म केहि परिवर्तन भएन । जुन हाम्रो आयको स्रोत थियो त्यो उही नै छ र व्ययको प्रणाली पनि उस्तै छ । हामीले व्ययको तीन भाग रहेकोमा सोही अनुरुप हामीले खर्च गरिरहेका छौं’ उनले भने, ‘अहिले पनि हामीले बजेटको ६२–६३ प्रतिशत खर्चमै व्यवस्था गरिरहेका छौँ । यता, आयको पनि उस्तै हालत छ । जम्मा जम्मी ३६–३७ प्रतिशत मात्र आयको स्रोत छ । यो दुखको कुरा हो । हुनुपर्ने आय ६२–६३ प्रतिशत र व्ययको अवस्था ३६–३७ प्रतिशत हो । तर हाम्रोमा ठीक उल्टो छ ।’

समाजवाद उन्मुख आर्थिक सम्वृद्धि हाम्रो लक्ष्य भए पनि पहिले स्रोत अर्थात् पहिले उत्पादन गर्ने र वितरणमा जानु पर्ने उनको भनाई छ । उत्पादन नै नभई विरतणमा मात्र जानाले मुलुकमा आर्थिक संकट आउन सक्ने उनको जिकिर गरे । जम्मा जम्मी एक हजार डलर प्रतिव्यक्ति आम्दानी रहेको मुलुमा १२–१५ खर्बको बजेटले सबैलाई वितरण गर्दा त्यसले हामीले लक्ष्य राखेको आर्थिक समृद्धिमा पुग्न नसकिने उनले उनको भनाई छ ।

यसै समयमा डा. भट्टराईले सरकारलाई सुझाव दिने क्रममा आर्थिक सम्वृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्ने बताए । कृषि, पर्यटन तथा भौतिक पुर्वाधार विकास विना आर्थिक सम्वृद्धि नआउनको उनको भनाई रहेको छ । सात प्रतिशतको आर्थिक वृद्धि केही वर्षदेखि पानी परेर कृषि उपजको उत्पादन बढेको र भूकम्पपछिको पुनर्निर्माणले पनि वृद्धिलाई टेवा दिएकोले यसलाई सन्तोषजनक मान्न नहुने उनले बताए ।

उनले भने, ‘इन्द्र भगवानको कृपाले केही वर्षदेखि पानी परेर कृषि उपजको उत्पादन बढेको छ,’ उनले थपे, ‘भूकम्पपछिको पुनर्निर्माणले पनि केही वृद्धि देखिएको हो । दोहोरो आर्थिक वृद्धि नभएसम्म सन्तोषजनक मान्नु हुन्न ।’ उनले पूँजीवादी चरणलाई नाघेर अहिल्यै समाजवादमा जान सक्ने अवस्था नरहेको बताए । ‘वृद्धिमा जोड दिने र वितरणमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘आर्थिक वृद्धि दुई अंकको हुनुपर्छ । न्यायपूर्ण ढङ्गको वितरण दीगो ढङ्गले गरे मात्रै मान्छेमा खुशीपन आउँछ यो विकासको आयाम हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७