माधव नेपालको बिजुक्छेलाई सुझाव, ‘अधिनायकवादको संस्कार छाड्नुस्, नत्र पार्टी सकिएला’


७ असार २०७६, शनिबार
madhav kumar

भक्तपुर, ७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल मजदुर किसान पार्टीलाई अधिनायकवादको संस्कार त्याग्न सुझाव दिएका छन् ।

शनिबार भक्तपुरको सिर्जनानगरमा श्रमजीवि महिला तथा बाल कल्याण परिषदले सञ्चालन गरेको भ्याली हेल्थ एण्ड रिसर्च सेन्टरको १६ औं वार्षिकोत्सवको अवसरमा नेता नेपालले यस्तो सुझाव दिएका हुन् ।

सप्ताहव्यापी स्वास्थ्यसम्बन्धी अभिमूखीकरण एवं पाठेघरको परीक्षण शिविरको उद्घाटन गर्दै नेपालले भने, ‘नारायणमान बिजुक्छेजी ! अधिनायकवादको संस्कार कार्यकर्तालाई नदिनुस्, अहंकार, दमनकारी, दास प्रवृत्तिले हुर्किंदै गए त्यसको परिणाम विस्थापन नै हो, त्यो बाटोतिर नलाग्नुस् ।’

आफ्ना प्रतिपक्षलाई पनि उत्तिकै सम्मान गरे मात्र आफ्नो पार्टी दिगो रहने बताउँदै उनले एकाधिकार कायम गर्ने, दम्भको घोडामा हिंड्ने र अरुको मुख बन्द गराउन खोजे आफै समाप्त हुने बताए । नेता नेपालले सरकार विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्दै स्वास्थ्य, कृषि, वातावरण, शिक्षा, उत्पादन, बजारीकरण जस्ता जुनसुकै क्षेत्रको सूचना प्रवाह र जनचेतना फैलाउन अग्रसर रहेको बताएका छन् ।

साथै धुँवा, धुलो, पानी, खानेकुरा, तेल, तरकारी जुनसुकै क्षेत्रमा पनि स्वाथ्यलाई हानी पुर्‍याउने तत्वहरु रहेको बताउँदै उनले अहिले प्रत्येक मानिस पाइलैपिच्छे रोग कुल्चेर हिंडिरहेको र रोगबाट बच्न सजग रहन जोड दिए । स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएबापत नेता नेपालले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई कदर पत्रले सम्मान गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७