उपेन्द्र र महतोबीच अढाई घण्टा गोप्य बैठक, मन्त्रिमण्डल फेरबदलबारे छलफल


७ असार २०७६, शनिबार
Upendra yadav and Rajendra Mahat

जनकपुर, ७ असार । समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका संयोजक समितिका सदस्य राजेन्द्र महतोबीच जनकपुरमा अढाई घण्टे गोप्य कुराकानी भएको छ ।

गोप्य बैठकबाट पार्टी एकीकरणदेखि प्रदेश नम्बर–२ को सरकारप्रतिको असन्तुष्टिलाई साम्य पार्न मन्त्रिमण्डलको फेरबदलसम्मको विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । लामो समयदेखि पार्टी एकीकरणको लागि औपचारिक तथा अनौपचारिक रुपमा छलफल बहस भईरहँदा समाजवादी पार्टी र राजपाबीच पार्टी एकीकरणको लागि सहमति जुटेको हो ।

शुक्रबार जनकपुरमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उपप्रधानमन्त्री समेत रहेका यादव र नेता महतोबीच गोप्य वार्तापछि पार्टी एकीकरणको लागि सकारात्मक सहमति जुटेको समाजवादी पार्टीको एक नेता बताउँछन् ।

राजपा नेपालले पार्टी एकीकरणको लागि केन्द्रीय सरकारबाट फिर्ता हुनका लागि दवाव दिइरहेको बेला जनकपुरमा गोप्य बैठकबाट पार्टी एकीकरणका लागि छिट्टै नै कार्य्विधि तय गरी अघि बढ्ने सहमति भएको बताइएको छ ।

पार्टी एकीकरणको लागि समाजवादी पार्टी सधैँ सकारात्मक रहेको बताउँदै प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना समेत रहेको समाजवादी पार्टी प्रदेश संयोजक विजयकुमार यादवले जानकारी दिएका छन् ।

उनले तत्कालीन संघीय समाजवादी फोरमकै बेलादेखि राजपासँग एकीकरणको लागि पहल भइरहेको र हाल तत्कालिन नयाँ शक्ति पार्टी नेपालसँग समेत एकीकरण भइसकेकोले एकताको लागि सकारात्मक रहेको उनले प्रष्ट्याए ।

त्यस्तै राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले विगतदेखि पार्टी एकीकरणको सवालमा सहमति जुटिसकेकाले केहि सैद्धान्तिक सवालमा भने अझैँ कुराकानी मिल्न नसकेको बताए । उनले समाजवादी पार्टीले राष्ट्रपति प्रणाली, पार्टी अध्यक्ष मण्डल र प्रदेश सरकारको मन्त्रिमण्डल फेर्ने लगायतका विषयमा गम्भिर कुराकानी भएको जनाए ।

प्रवक्ता सिंहले थप स्पष्ट पार्दै भने, ‘उपेन्द्रजीहरु कार्यकारी राष्ट्रपतिय शासन प्रणालीको पक्षमा हुनुहुन्छ भने राजपामा ६ वटा अध्यक्ष र समाजवादी पार्टीमा एउटा मात्रै अध्यक्ष रहेकाले यसमा पनि पेचिलो समस्या बन्दै गएकोले थप आन्तरिक गृहकार्यको आवश्यकता छ ।’

त्यस्तै उनले प्रदेश सरकारको कार्यशैली र जनभावना अनुसार प्रदेश सरकारले काम गर्न नसकेको तथा केहि मन्त्रीहरुले मनपरी रुपमा काम गरेकाले सरकार र पार्टीको बदनाम भएको भन्दै प्रदेश सरकारलाई जनताप्रति उत्तरदायि बनाउनका लागि मन्त्रिमण्डल फेरबदलको समेत कुराकानी भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७