अन्ततः शम्भु राईले हाले प्रकाश सपुतविरुद्ध कपिराइटको मुद्दा, के छ प्रतिलिपी अधिकार ऐनमा ?


८ असार २०७६, आईतवार
Prakash Saput and Shambhu Rai

काठमाडौं, ८ असार । प्रकाश सपुतको भाइरल गीत ‘गलबन्दी’ लय आफ्नो गीतबाट चोरिएको भन्दै गायक शम्भू राईले प्रतिलिपी अधिकारको माग गर्दै मुद्दा दर्ता गराएका छन् ।

गलबन्दी गीतलाई दिएर दुई गायक प्रकाश समुत अहिले सामाजिक सञ्जालमा छाएका छन् । गलबन्दी गीतको लय चोरिएको आरोप गायक शम्भु राईले लगाएपछि अहिले श्रोताहरु सामाजिक सञ्जालमा समेत पक्ष–विपक्षमा देखिएका छन् ।

सपुतको ‘गलबन्दी’ गीतसँग आफ्नो ‘आऊ नाचौं साथी हो’ बोलको देउसी गीतको लय मिलेपछि आफूले गायक सपुतलाई एक आपसमा मिल्ने बाटो रोजौं भनेर पटक–पटक आग्रह गरेको भए पनि सपुतले खासै चासो नदिएको गायक राईले बताएका छन् ।

बरु उल्टै राईलाई घुमाउरो पाराले व्यङ्ग्य गर्दै सपुतले खुल्लापत्र लेखे । उनले राईलाई लेखेको खुल्लापत्र सामाजिक सञ्जाल र विभिन्न अनलाइन मिडियामा भाइरल जस्तै भयो । तर, त्यो पत्र पढेपछि गायक राईको चित्त बुझ्नुको सट्टा आफूलाई व्यङ्ग्यात्मक शैलीमा उडाएको भन्दै अहिले राई न्यायको ढोका ढकढकाउन पुगेका छन् ।

अन्तत: गायक राईले सपुतको गीत ‘गलबन्दी’ आफ्नो गीत ‘आऊ नाचौं साथी हो’ सँग हुबहु मिलेको भन्दै नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयमा मुद्दा दर्ता गरेका छन् । राईले बिहीबार मुद्दा दर्ता गरेका हुन् । ‘मैले मिलेर जाऊँ मुद्दा मामिलामा नजाऊ भन्दा प्रकाशजी मान्नु भएन त्यसैले म वाध्य भएर कपिराइटमा गएको हुँ,’ गायक राईले भने । ‘आउ नाचौं साथी हो’ गायक राईले वि.सं. २०४८ सालमा रेकर्ड गरेको गीत हो । रजिष्टारको कार्यालयले राईलाई आज (आइतबार) विहान ११ बजे छलफलका लागि बोलाएको छ ।

रजिष्टारको कार्यालयले दुई जनाबीच आपसी छलफलमा जान आग्रह गर्ने जनाइएको छ । तर दुई पक्षबीच सहमति हुन नसके प्रहरी हुँदै मुद्दा अदालतसम्म पुग्ने कानुनी प्रावधान छ । आफूले क्रियशन वाई शम्भु राई मात्रै राखिदिए पुग्ने बताइरहेको भए पनि कपिराइटमा गएपछि त्यो बाहेक आर्थिक पक्षमा पनि सपुत तानिने उनको तर्क छ । ‘गलबन्दी’ का गायक प्रकाश सपुतले आफू सम्बन्धित ठाउँमा गएर छलफल गर्न तयार रहेको बताएका छन् । ‘म उहाँले कहाँ कहिले बोलाउनु हुन्छ छलफल गर्न तयार छु,’ सपुतले भने ।

कपि दावि गरिएकाे गीत

के व्यवस्था छ प्रतिलिपी अधिकार ऐनमा ?
प्रतिलिपि अधिकार ऐन, २०७४ (संशोधन) को परिच्छेद ६, दफा २५ र २७ मा दण्ड र सजाय तोकिएको छ । दफा २५ संरक्षित अधिकारको उल्लंघन भएको मानिने ः (१) कसैले देहाय बमोजिमको कार्य गरेमा यस ऐन बमोजिम संरक्षित अधिकार उल्लंघन गरेको मानिने छ ।

 

रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति प्राप्त नगरी वा अनुमति प्राप्त गरेको भएता पनि सम्झौता वा अनुमतिपत्रमा उल्लेख भएको शर्तको उल्लंघन गरी आर्थिक लाभ उठाई वा नउठाई व्यापारिक वा अन्य कुनै उद्देश्यले आफ्नो हक नपुग्ने रचना वा ध्वनी अङ्कनको प्रतिलिपिहरु उत्पादन गरी बिक्री वितरण वा सार्वजनिक सञ्चार गरेमा वा भाडामा दिएमा, अर्काको रचनाको स्वरुप वा भाषाको माध्यम परिवर्तन गरी आर्थिक लाभ उठाउने उद्देश्यले अर्कै विषय वा प्रकृतिको रचना निर्माण गरेमा, सांकेतिक भाषामा गोप्य रुपमा (इन्क्रिप्ट गरी) प्रसारण गरिएको कार्यक्रमलाई अनधिकृत रुपमा हेर्न मद्दत गर्ने उपकरण बिक्री गर्ने उद्देश्यले उत्पादन वा आयात गर्ने कार्य गरेमा प्रतिलिपी अधिकार ऐन लाग्ने छ ।

दफा २७ मा कसैले दफा २५ उल्लंघन गरेमा त्यस्तो उल्लंघन गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार १० हजार रुपैयादेखि १ लाख रुपैयासम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनेछ र दोस्रो पटकदेखि पटकैपिच्छे २० हजार रुपैयादेखि २ लाख रुपैयासम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

त्यसरी प्रकाशन वा पुनरुत्पादन गरेको वा वितरण गरेको वा पुनरुत्पादन गर्न प्रयोग गरिएका सामग्रीहरु जफत हुनेछ । (२) संरक्षित अधिकारको उल्लंघन गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ति समेत भराई दिनु पर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७