६ कर्मचारीले गोप्य रुपमा सुल्झाउँदै स्वास्थ्यका कर्मचारीको समायोजन समस्या, यसरी हुँदैछ काम


८ असार २०७६, आईतवार
swa

काठमाडौं, ८ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको कर्मचारी समायोजनको काम झन् अन्यौलमा परेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनको काम सकिएको भन्दै स्वास्थ्यमा फाइल पठाए पनि त्यसमा झन् समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालयले ती सबै समस्या समाधानका लागि ६ जना कर्मचारी खटाएको छ ।

मन्त्रालयले समायोजनका फाइल केलाउँदै समस्या समाधान गर्दै कर्मचारीलाई पत्र दिन उक्त टोली खटाएको हो । मन्त्रालयले खटाएका ६ जनाको नाम भने गोप्य राखिएको छ ।

‘नाम सार्वजनिक गर्दा उहाँहरुमा दबाब आउने सम्भावना देखिएकाले गोप्य राखिएको हो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘उहाँहरुले समायोजनमा देखिएका समस्या समाधान गर्दै कर्मचारीको समायोजनको पत्र बनाउने काम गर्नुहुन्छ ।’ उक्त टोलीले तयार पारेको पत्रका आधारमा कर्मचारीलाई क्रमशः पत्र पठाउँदै जाने उनले बताए ।

मन्त्रालयले कर्मचारीलाई हाल कार्यरत रहेको स्थानमा नै समायोजनको पत्र पठाउने जानकारी सार्वजनिक गरिसकेको छ । कर्मचारीलाई नआत्ती काम गर्न पनि मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार समायोजनको काम असार मासन्तभित्र सक्ने लक्ष्य छ । ‘हामीले कर्मचारी समायोजनका सबै काम हामीले यो महिनाभित्र सक्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘समस्या नदेखिएका र साना साना समूहका कर्मचारीलाई क्रमशः पत्र पठाउँदै जानेछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७