समता अस्पताल युवती मृत्यु प्रकरण : घटना छानविन माग गर्नेमाथि प्रहरीको लाठ्ठी चार्ज


८ असार २०७६, आईतवार
samata 1

काठमाडौं, ८ असार । काठमाडौंको बौद्ध कुमारीगालस्थित समता अस्पतालकी सफाइ कर्मचारी एक महिलाको मृत्युको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि लाठीचार्ज गरिएको छ ।

घटनाको छानबिन गरी दोषीलाई कार्बाही गर्नुपर्ने माग राखेर गौशालास्थित महानगरीय प्रहरी वृत्त अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले लाठ्ठी चार्ज गरेको हो । प्रदर्शनकारीले यातायात अवरुद्ध पारेकाले बल प्रयोग गर्नु परेको सुरक्षा निकायले जनाएको छ । प्रदर्शनकारीहरुले स्वास्थ्यमन्त्रीको राजीनामा समेत मागेका छन् ।

रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ गत मंगलबार बिहान अस्पतालमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । तामाङ मृत अवस्थामा फेला परेपछि उनका आफन्तले प्रहरीमा किटानी जाहेरी समेत दिएका छन् ।

प्रहरीले सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई हिरासतमा लिएको छ ।

मृतक विमलाको गोजीमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको कागज भेटिएको थियो । प्रहरीका अनुसार कागजमा ‘म्याम’ लेखिएको थियो । त्यही आधारमा प्रहरीले मंगलबार नै सोधपुछको लागि भन्दै उत्तम, पत्नी कला, तीर्थ र संगीतालाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७