बाढीले लमजुङ-मनाङ जोड्ने पुल बगायो, सम्पर्क विच्छेद


८ असार २०७६, आईतवार

लम्जुङ, ८ असार । हिमाली जिल्ला मनाङ जोड्ने म्यार्दीखोलामाथिको बेलिब्रिज आज (आइतबार) बाढीले बगाएको छ । गएको वर्ष मात्रै निर्माण गरिएको पुल बगाएपछि मनाङसँग सडक सम्पर्कविच्छेद भएको स्थानीयले जानकारी दिएका छन् ।

pul 1

लमजुङ र मनाङ सीमानाको म्यार्दीखोलामा आइतबार दिउँसो एक्कासी आएको बाढीले म्यार्दीको पुल बगाएको हो । पुल बगाएपछि यात्रु अलपत्र परेका छन् । आज दिउँसो पौने २ बजेतिर पुल बगाएको मनाङका डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिएका छन् । दुई वटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको उनले जानकारी दिए ।

मनाङबाट बेंसीसहर आउँदै गरेका चीन घलेका अनुसार म्यार्दी खोलाले पुल बगाउँदा सवारी साधनहरू रोकिएका छन् । सडक निर्माण भएको एक दशकपछि हिमाली जिल्ला मनाङ जोड्न लमजुङ सीमा म्यार्दी खोलामा बेलिब्रिज निर्माण गरिएको थियो ।

यसैबीच तिमाङखोलाको छहरेमा राखिएको हृयुमपाइपसहितको अस्थायी काठे पुल बगाउँदा तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान नसकेको जनाइएको छ ।
लमजुङका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले मनाङबाट बग्ने मर्स्याङदी नदीको बहाव साबिकको भन्दा बढ्दै आएकोले मर्स्याङदी तीरमा बस्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७