तीन दिन देशभर पानी पर्ने, सतर्क रहन आग्रह


८ असार २०७६, आईतवार
barsa

काठमाडौं, ८ असार । बिहीबारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आज पश्चिमी क्षेत्रसम्म फैलिएको छ ।

पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमबारसम्म देशभर फैलिने जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए । उनका अनुसार शनिबार मनसुन मध्य क्षेत्रका केही भेगमा बढी सक्रिय रह्यो । गए रातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन सुदूरपश्चिम पुगेको बताइएको छ ।

कँडेलका अनुसार सोमबारसम्ममा देशभर मनसुन सक्रिय हुनेछ । उक्त मनसुनको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेकाले बाढीपहिरोे आउन सक्ने भनी सचेत रहन आग्रह गरिएको छ ।

राति देशका पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वका केही स्थानका साथै मध्य तथा पश्चिमका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको बताइएको छ ।

मङ्गलबार देशको मध्य पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागमा सामान्य बदली भई पूर्वका केही स्थानका साथै मध्य तथा पश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३९ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७