दुई युवतीमाथि सामुहिक बलात्कार, भाग्दा समेत फेरि समातेर बलात्कार


९ असार २०७६, सोमबार
Rape for nayapage

रुपन्देही, ९ असार । रुपन्देहीमा दुई युवतीमाथि सामुहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ भने अर्का अरोपी विष्णु थारुसहित अन्य व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

पक्राउ परेका ज्ञवालीलाई जबरजस्ती करणीको आरोपमा मुद्दा दर्ता गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । घटना विवरणअनुसार ती दुई युवतीलाई स्थानीय विष्णु थारुले असार २ गते साँझ खाजा खानका लागि बोलाएका थिए ।

बेलुका खाजा खाएर फर्किदै गर्दा विष्णुले अन्य दुई युवालाई बोलाएर युवतीमाथि जबरजस्ती गर्न थालेपछि एक युवती भागेकी थिइन् । अर्की युवतीलाई भने उनीहरुले बलात्कार गरेका थिए ।
भागेकी युवतीलाई हसनापुर गाउँमा स्थानीयवासी जीवन ज्ञवालीसहित चार जनाले बलात्कार गरेका हुन् ।

गुहार माग्दै गएकी उनलाई युवाहरुले भेटेपछि उल्टै बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै गैडहवा–९ का अध्यक्ष टेकबहादुरले बलालले बताए । ‘युवतीहरुले भनेअनुसार घटनामा धेरै जना संलग्न छन् तर प्रहरीले एक जनालाई मात्रै समातेको छ । अरु व्यक्तिलाई पनि पक्राउ गरेर कार्वाही गर्नुपर्छ,’ उनले भने, ‘युवतीहरुले न्याय पाउनु पर्छ ।’

सामुहिक बलात्कारपछि गम्भीर बनेका दुवै युवतीको स्वास्थ्य उपचार गरिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष बलालले बताए । गाउँपालिका प्रमुख बच्चुलाल केवटले घटनामा संलग्न सबैलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले पीडितलाई न्याय र पीडकलाई कानूनी कार्वाहीका लागि पहल गरिएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७