कुमार पौडेल मृत्यु प्रकरण : सत्तारुढ सांसदले नै बनाए गृहमन्त्रीलाई ‘तिरीखिरी’

घटनाको छानबिन गर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन


९ असार २०७६, सोमबार
bewastrha samiti

काठमाडौं, ९ असार । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेल मारिएको घटनाको सत्य तथ्य पत्ता लगाउन तत्काल छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पौडेल मारिएको घटनाको सत्य तथ्य पत्ता लगाउन तत्काल छानविन गरी एक साताभित्र समितिमा प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

घटनाको सत्य तथ्य बाहिर ल्याउने गरी छानबिन गरेर समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

बैठकमा समितिका सदस्यहरुले पौडेलको मुठभेडमा नभई प्रहरीले हत्या गरेको दाबी गर्दै सत्य तथ्य तत्काल बाहिर ल्याउन माग गरेका थिए । समितिका सदस्य एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले ५–६ ठाउँ हात भाँचेर हत्या गरिएका पौडेललाई मुठभेडमा मारिएको भनेर सरकारले देशमा द्वन्द्व निम्त्याउने काम गरेको भन्दै आपत्ति जनाएका थिए । संवैधानिक बाटोबाटै संविधान उल्लंघन गर्नेहरुलाई कार्बाही गनुपर्नेमा सरकार आफैले गलत बाटो लिएको उनले बताएका छन् ।

पौडेलको मृत्युका विषयमा प्रहरीले तयार गरेको रिपोर्ट र स्थानीय नागरिकले दिएको रिपोर्ट विपरीत रहेको बताउँदै सत्तारुढ सांसदहरुले नै प्रहरीको रिपोर्टलाई विश्वास गर्न नसकिने बताएका थिए । सत्तारुढ सांसदहरुले नै गृहमन्त्रीलाई घटनाबारे विभिन्न प्रश्न गर्दै ‘तिरीखिरी’ पारेका छन् ।

यता गृहमन्त्री थापाले भने सरकारले चन्द नेतृत्वको नेकपासँग मुठभेड नचाहेको स्पष्टिकरण दिएका छन् । उनले चन्द नेतृत्वको नेकपालाई संविधानको बाटोबाटै राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले वार्ताको प्रयासलाई पनि जारी राखेको बताएका छन् ।

गृहमन्त्री थापाले चन्द नेतृत्वको नेकपाको आतंककारी क्रियाकलापलाई मात्रै सरकारले नियन्त्रणमा लिने काम गरिरहेको दावी पनि गरे । गएको ५ गते चन्द नेतृत्वको नेकपाका सर्लाही इञ्जार्ज पौडेलको प्रहरीको गोली प्रहारबाट ज्यान गएको थियो । अहिले सो घटनाको राष्ट्रिय मानवअधिकार आयोगले समेत अनुसन्धान र छानविन गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७