इलामका ५२ चिया कारखाना बन्द, नगरपालिकाले एकलौटी मूल्य तोकेको आरोप


९ असार २०७६, सोमबार
tea3
फाइल फोटो

इलाम, ९ असार । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गरेर चिया उत्पादन कार्य रोकेका छन् ।

चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो । सूर्योदय नगरपालिकाले एकलौटी रुपमा निर्णय गर्दै हरियोपत्तिको मूल्य निर्धारण गरिदिएको भन्दै ती उद्योग बन्द गरिएका हुन् । नगरपालिकाले तोकिदिएको हरियोपत्तिको न्यूनतम मूल्य ४० रुपैंयाँ प्रतिकिलोमा हरियोपत्ति किन्न नसकिने बताउँदै उद्योगीले कारखाना बन्द गरेका हुन् ।

गत वर्ष चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ बनाएर नगरपालिकाले न्यूनतम हरियोपत्तिको मूल्य प्रतिकिलो ४० कायम गरेको थियो ।

तर उद्योगीले अहिलेको ‘सिजन’ मा उत्पादित चियापत्तिको गुणस्तर राम्रो नहुने र यस्तो गुणस्तरको हरियोपत्तिलाई प्रतिकिलो ४० रुपैंयाँ मूल्य लगाउन नसकिने बताएको छ । एशोसिएसनले नगरपालिकालाई पत्र पठाएर असार १२ गतेदेखि कारखाना बन्द गर्ने घोषणा गरेको छ ।

उद्योगीले यसअघि हरियो चियापत्तिको गुणस्तरका आधारमा मूल्य दिँदै आएका थिए । यस पटकदेखि उद्योगीसँग कुनै छलफल नगरी नगरपालिकाले एकलौटी ढङ्गले दरभाउ तोकेको भन्दै विरोधस्वरुप उद्योग बन्द गर्नुपरेको कार्यवाहक अध्यक्ष डिल्लीराम श्रेष्ठले जानकारी दिएका छन् ।

सरकारले चिया उद्योगीको पीर मर्कालाई कहिल्यै नबुझेको, राज्यले सेवा सुविधा दिनुपर्नेमा नदिएको, उल्टै एकलौटी रुपमा भाउ तोकिंदा उद्योग धराशायी बन्न पुगेको एशोसिएसन पत्रमा उल्लेख गरेको छ ।

suryodaya

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७