तिवारीको नेतृत्वमा राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको ४५ सदस्यीय केन्द्रिय कार्यसमिति


९ असार २०७६, सोमबार
udaya

काठमाडौं, ९ असार । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) निकट राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको तेस्रो महाधिवेशनले डा. उदय किशोर तिवारीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ ।

असार ७ र ८ गते काठमाडौंमा सम्पन्न अधिवेशनले ४५ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा तिवारी, अखिलेशकुमार सिंह, डा. विनोद साह, राजेश्वर यादवसहित ८ जना उपाध्यक्ष, महासचिवमा उदयकुमार कर्ण, सचिवहरुमा सुरेशप्रसाद कुशवाहसहित ८ जना छन् ।

शौक्षिक सुशासन, गुणस्तरीय शिक्षा एवं समानुपातिक प्रतिनिधित्व भन्ने मूल नाराका साथ उच्च शिक्षा, शौक्षिक आदर्श, गुणस्तरीय शिक्षा, आदिवासी, जनजाति, मधेसी, महिला आदिको विश्वविद्यालयस्तरमा समानुपातिक प्रवेशको सुनिश्चितता, समानताको अधिकार, प्राज्ञिक मूल्य मान्यता, पदीय मर्यादा एवं आफ्नो पेशागत हकहित संरक्षण तथा सम्वर्धन गर्दै समतामूलक समाजको निर्माण जस्ता उद्देश्यहरुमा आधारित रहेर संघको महाधिवेशन सम्पन्न भएको अध्यक्ष तिवारीले बताए ।

तिवारीका अनुसार उक्त महाधिवेशनमा राजपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर, राजेन्द्र महतो, त्रिविको उपकुलपति प्रा.डा. तीर्थराज खनियाँ, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दास, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा. रामेश्वर उपाध्याय, त्रिवि प्राध्यापक संघका अध्यक्ष प्रा.डा. बसन्त ढकाललगायत विभिन्न क्याम्पसबाट सहभागी थिए ।

उनले संघले विश्विद्यालयमा गुणस्तरीय शिक्षाका लागि पहल र प्राज्ञिक क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेप, विश्वविद्यालयको स्वायत्ततामाथि भइरहेको आक्रमण रोक्नका लागि पहल गर्ने विश्वास दिलाए ।

त्यस्तै, २५० जना महाधिवेशन प्रातिनिधिहरुको सहभागिता रहेको सो अधिवेशनको उदघाटन सत्रमा सबैले उच्च शिक्षा, शिक्षा नीति, विश्वविद्यालयको गतिविधि, प्राज्ञिक स्वतन्त्रतामाथि भईरहेको प्रहार, प्राज्ञिक मूल्य मान्यता तथा अध्ययन र अनुसन्धान आदि विषयमा आफ्नो धारणा राखेको पनि संघले जनाएको छ ।

लोकतान्त्रिक मूल्य र मान्यता, विधि एवं प्रक्रियाअनुसार मुलुकको सघीय शासन व्यवस्था बमोजिम परिवर्तित उच्च शिक्षा नीतिअनुसार संघको विधानलाई संशोधन गर्दै सबल र सक्षम केन्द्रीय कार्य समिति निर्माण गर्दैै महाधिवेशनबाट विभिन्न निर्णयहरु समेत पारित भएको महासचिव उदयकुमार कर्णले जानकारी दिए ।

उनले प्राज्ञिक मूल्य र मान्यतामाथि भइरहेको सबै प्रकारको हस्तक्षेप तथा विश्वविद्यालयमा आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिमहरुमाथि भइरहेको विभेद अन्त्यका लागि आफूहरुले गम्भिर पहलकदमी लिने पनि विश्वास दिलाए ।

राष्ट्रिय महाधिवेशनबाट त्रिविवि तथा अन्य विश्वविद्यालयमा विगत वर्षदेखि करारमा कार्यरत शिक्षण सहायकहरुलाई स्थायी गर्न आवश्यक पहल गरिने, त्रिविवि तथा अन्य विश्वविद्यालयमा धेरै वर्षदेखि आंशिक रुपमा कार्यरत सम्पूर्ण प्राध्यापकहरुलाई करारमा नियुक्तिका लागि आवश्यक प्रक्रिया मिलाउन निर्णय गरिएको पनि कर्णले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७