१५ बुँदे घोषणापत्र जारी गर्दै समाजवादीले भन्यो, ‘नेकपा-कांग्रेस दुबै यथास्थितिवादी’ (पूर्णपाठ)

‘सबै आन्दोलनहरू सम्झौतामा टुङ्गिए, १० वर्षे जनयुद्व पनि यसरी नै सम्झौतामा टुङ्गियो’


९ असार २०७६, सोमबार
samajbadi parti 20190506095320

काठमाडौं, ९ असार । एकीकरणपछि भर्खरै दल दर्ता गराएको समाजवादी पार्टी नेपालले आज पार्टीको १५ बुंदे घोषणापत्र जारी गरेको छ ।

उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्राईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालले घोषणापत्रमा सङ्घीय शासन प्रणालीसहितको समाजवाद आफ्नो मार्गचित्र र मौलिक बाटो भएको उल्लेख गरेको छ ।

‘हामीले संघीयतालाई देशका उत्पीडित राष्ट्रियताहरूमाथि भइरहेको विभेद मुक्तिको आधारको रूपमा र समाजवादलाई श्रमजीवि वर्गको मुक्तिको आधारको रूपमा लिएका छौं’, घोषणापत्रमा भनिएको छ ।

समाजवादी पार्टीले नेपालमा लोकतान्त्रिक समाजवादको वकालत गर्ने नेपाली कांग्रेसले वैयक्तिक स्वतन्त्रता र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्न नसकेको तथा साम्यवादको वकालत गर्ने कम्युनिष्ट पार्टीहरूले वर्गीय मुद्दाहरूमा मात्र जोड दिएको आरोप लगाइएको छ ।

घोषणापत्रमा यसअघि भएका विभिन्न आन्दोलन, विद्रोह र क्रान्तिले सम्पूर्ण क्रान्तिको रूप लिन नसकेको उल्लेख छ । ‘सबै आन्दोलनहरू सम्झौतामा टुङ्गिए । १० वर्षे जनयुद्व पनि यसरी नै सम्झौतामा टुङ्गियो’ समाजवादीको निष्कर्ष छ ।

त्यस्तै क्रान्तिको जगमा मुलुकको सामाजिक–आर्थिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनहरू, दशवर्षे जनयुद्व र सङ्घीयताका लागि उत्पीडित राष्ट्रियताहरूले गरेका सङ्घर्षहरू रहेको उल्लेख छ । नयाँ युगमा प्रवेश गरेपनि सङ्घर्ष अहिले पनि जारी नै रहेको समाजवादीको घोषणापत्रमा उल्लेख छ ।

समाजवादीले नयाँ युगको नेतृत्व गर्न वैज्ञानिक विचार, दृष्टिकोण र दृढ इच्छशक्ति भएको राजनीतिक शक्तिको आवश्यकता पर्ने भएपनि नेपालमा विद्यमान राजनीतिक दलहरू पुरानो विचारबाट ग्रसित भएको उल्लखे गरेको छ ।

‘तिनीहरूमा नयाँ युगको नेतृत्व गर्ने विचार र दृढता छैन । अहिले नेपाली समाजमा जनताको अग्रगामी चेतना र पुुराना पार्टीहरूको यथास्थितिवादी विचारबीचको अन्तरविरोध देशको शासन सत्तामा अभिव्यक्त भएको छ । यो अन्तर्विरोधलाई हल नगरी देश अग्रगमनमा जान सक्दैन ।

यो देश बनाउन सकिन्छ, यो काम हाम्रो जीवन कालमै सम्भव छ । तर यसका लागि विचार, सङ्गठन, सङ्घर्ष र नेतृत्व सबै हिसावले नयाँ ढङ्गको, हरेक क्षेत्रमा आफ्नो अलग विकल्प भएको र नेपाली क्रान्तिका कार्यभारहरूलाई पूरा गर्न सक्ने राजनीतिक शक्तिको आवश्यकता पर्दछ’ घोषणापत्रको प्रस्तावनामा नै भनिएकोक छ ।

समाजवादीले नेपालका पुराना शक्तिहरू देशको नेतृत्व गर्न असफल सिद्ध भइसकेको निश्कर्ष निकाल्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै उनीहरु यथास्थितिवादी शक्तिमा रूपान्तरित भएको दावी गरेको छ । त्यस्तै राजावादी शक्तिहरू प्रतिगमनको प्रयत्नमा रहेकाले अलग विकल्प भएको नयाँ राजनीतिक शक्तिको स्थापना जरुरी भएको उल्लेख छ ।

समाजवादीले वर्तमान नेपाली समाजलाई उत्पादन पद्वतिको हिसावले सामन्तवादबाट पुँजीवादमा सङ्क्रमणको अवस्थामा रहेको जनाएको छ । गत क्रान्तिपछि राज्यको उपरी ढाँचा पुँजीवादी बनेको छ तर सामाजिक–आर्थिक क्षेत्रमा पुरानो सामन्ती उत्पादन सम्बन्ध पूर्ण रूपले समाप्त भइ नसकेको उल्लेख गरेको छ ।

त्यस्तै पुँजीवादको विकाससँगै नवउदारवादी खुला बजार अर्थतन्त्र प्रभावशाली बन्दै गएको, नेपाली समाजमा सामन्तवाद पतनोन्मुख र पुँजीवाद उदीयमान रहेको उल्लेख गरेको छ । घोषणापत्रको ३ नम्बर बुँदामा पहिचान र अधिकार सहितको संघीयताबारे समाजवादीले यथास्थितिवादी राजनीतिक शक्तिहरूले संविधान निर्माण गर्दा प्रशासनिक सङ्घीयताको मार्ग अबलम्बन गर्न पुगेको आरोप लगाइएको छ ।

‘जातीय उत्पीडनबाट उत्पीडित राष्ट्रियताहरूलाई मुक्त गर्ने काम भएन । हामी सवै राष्ट्रियताहरू, भाषिक समुदाय र उत्पीडित क्षेत्रको पहिचान र अधिकार सहितको सङ्घीय एकाइ–प्रदेशहरू, स्वायत्त क्षेत्रहरू, संरक्षित क्षेत्रहरू र विशेष क्षेत्रहरू निर्माण गर्न र नेपाललाई साँचो अर्थमा सङ्घीय राज्य बनाउन प्रतिबद्व छौँ’ घोषणापत्रमा भनिएको छ ।

त्यस्तै उसले पहिचानसहितको सङ्घीयता भन्नु जातीय राज्य नभएको पनि दावी गरेको छ । उसले भनेको छ– ‘केन्द्रमा साझा शासन र प्रदेशहरूमा स्वशासन भएको सङ्घीय व्यवस्था हो । संघीय राज्यमा दुई अलग तर स्वायत्त तहमा राजकीय सत्ता र शासनाधिकारको बाँडफाँट भएको हुन्छ ।

केन्द्रमा साझा राज्य र प्रदेशहरूमा स्वायत्त राज्य हुन्छ । नेपाल जस्तो बहुराष्ट्रिय मुलुकमा यसले ठूलो महत्व राख्दछ ।’ संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीवीच गत बैशाख २३ गते पार्टी एकता घोषणा गर्दै समाजवादी पार्टी नामाकरण घोषणा भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७