सरकार पाँच वर्षसम्म फेबदल हुँदैन : रक्षामन्त्री पोखरेल

‘सरकार ढल्छ भन्ने हल्ला अस्थिरता सिर्जना गर्न फैलाइएको हो’


९ असार २०७६, सोमबार
Ishwor Pokhrel ईश्वर पोखरेल is a current Secreteriat member of Nepal Communist Party and also the Deputy Prime Minister and Minister of Defence
फाइल फोटो

भक्तपुर, ९ असार । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेको सरकार पाँच वर्षसम्म फेरबदल नहुने बताएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको पाँचौं नगरसभाको शुभारम्भ कायक्रममा बोल्दै पोखरेलले केपी ओली नेतृत्वको सरकार पाँच बर्षसम्म नै काम गर्ने दावी गरे । उनले भने, ‘यो सरकार विधिसम्वत ढङ्गले बनेको छ, सरकार ढल्छ भन्ने हल्ला अस्थिरता सिर्जना गर्न फैलाइएको हो ।’

नेकपा नेतृत्वको वर्तमान सरकारले जनताको विश्वासको बलमा पाँच वर्षसम्म योग्यतापूर्वक काम गर्ने समेत रक्षामन्त्री पोखरेलले बताए । ‘पाँच वर्षसम्म टिक्ने सरकार भएकाले कुनै शंका गर्नु पर्ने ठाउँ छैन’, मन्त्री पोखरेलले भने ।

रक्षामन्त्री पोखरेलले विकास गर्ने क्रममा यो पार्टी र त्यो पार्टी नभनी सबै एक जुट हुनुपर्ने भन्दै निर्वाचनमा पराजित भएकालाई समेत समेटेर लैजानु पर्ने बताएका छन् ।

‘दलीय द्वन्द्वको धङधङीबाट लिप्त भएकाहरुले मात्र विकासको विरोध गर्छन्’ मन्त्री पोखरेलले भने । उनले सुखी नेपाली सम्वृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासमा केन्द्रित भएर सरकारले काम गरिरहेको समेत दावी गरे ।

कार्यक्रममा सांसद महेश बस्नेतले आगामी केही वर्षभित्रै भक्तपुर विकासले भरिपूर्ण जिल्लाका रुपमा चिनिने बताए । ‘सडक, विद्यालय, पुल निर्माण मात्र नभएर हामीले पयर्टन पूर्वाधार विकासमा समेत काम गरिरहेका छौं’ सांसद बस्नेतले भने ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, मध्यपुरथिमीकी उपप्रमुख अन्जनादेवी मधिकर्मी, नेकपाका जिल्ला अध्यक्ष बचन देउजा, कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेलललगायतले भक्तपुरको नीति तथा कार्यक्रमले जनताको आश्यकतालाई सम्बोधन गर्नु पर्नेमा जोड् दिएका थिए ।

नगरपालिकाको नीति तथा कार्यक्रम पेश गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले कृषि, पर्यटन, धर्म संस्कृति, शिक्षा, युवा तथा खेलकुदलगायतका कुरालाई विशेष महत्व दिएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७