चौकी प्रमुखले नै महिलालाई यौन प्रस्ताव राखेपछि तनाव, स्थानीयले घेरे प्रहरी चौकी


९ असार २०७६, सोमबार
Chauki

ओखलढुङ्गा, ९ असार । ओखलढुङ्गामा कार्यरत एक प्रहरीले महिलालाई यौन प्रस्ताव राखेको आरोपमा स्थानीयले चौकी घेराउ गरेका छन् ।

श्रीचौर प्रहरी चौकीका प्रमुख समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) प्रशुराम विश्वकर्माले एक महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले आइतबार राति प्रहरी चौकी घेरेका हुन् ।

मदिरा सेवन गरेर अचेत अवस्थामा पुगेका असई विश्वकर्माले स्थानीय एक होटलमा आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै महिला चिच्याएपछि स्थानीय आक्रोशित भएका थिए । प्रहरीले संवेदनशिल अङ्गमा समातेर यौन सम्पर्कका लागि जबरजस्ती प्रस्ताव गरेको पीडित महिलाले बताएकी छन् । ‘म खाएर बसेको ठाउँमा पुलिस आएर मलाई नराम्रो व्यवहार गर्‍यो,’ पीडित महिलाले भनिन्, ‘अनि मैले दुई झापट दिएँ । चिच्याएर गुहार मागेपछि भाग्यो ।’

प्रहरीबाटै महिला असुरक्षित भएपछि दोषीलाई कार्बाहीको माग गर्दै चौकी घेराउ गरिएको स्थानीय युवा पदम तामाङले बताएका छन् । ‘सुरक्षा दिने प्रहरीबाटै असुरक्षा भोग्नु परेको छ,’ उनले भने, ‘हामी कानुनी कार्बाही नभएसम्म चुप बस्दैनौं ।’ 

प्रहरीले मदिराको तालमा महिलामाथी दुर्व्यवहार गरेको हल्ला फैलिएपछि गाउँका अधिकांश मानिसहरु राति नै चौकी घेर्न पुगेका थिए । घेराउ ठूलो संख्यामा महिलाको उपस्थिति रहेको छ । यसअघि पनि श्रीचौरमा कार्यरत प्रहरीले मदिरा सेवन गरेर महिलामाथि हिंसा गरेका घटनाहरु सार्वजनिक भएको स्थानीयले जानकारी दिएका छन् ।

आक्रोशित व्यक्तिहरुले असई विश्वकर्मा र चौकी माथि आक्रमण गर्ने अवस्था आएपछि स्थानीय अगुवाहरुले नै सुरक्षा दिएका थिए । ‘हामीले अन्न फलाएर खाने जग्गा दिएर, चन्दा उठाएर बनाएको चौकीको भवन क्षति हुने अवस्था आएपछि आफैं गएर चौकी र प्रहरीको सुरक्षा दियौं ।’

स्थानीयको भनाई उद्रित गर्दै घटनास्थलबाट पत्रकार शिवकुमार कार्कीले भने ।’ अहिले स्थानीय वडा अध्यक्षसहितका जनप्रतिनिधि बसेर घटनाका विषयमा छलफल गरिरहेका छन् । प्रहरीले मदिरा सेवन गरेर महिलालाई दुर्व्यवहार गरेको भन्ने गुनासो आएकाले उनलाई जिल्ला झिकाउने तयारी भईरहेको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले बताए ।

‘प्रहरी असई विश्वकर्माले मदिरा सेवन गरेर महिलालाई दुव्र्यवहार गरेको भन्ने कुरा सुन्नमा आएको छ, सत्य के हो त्यो अनुसन्धान गर्छौ,’ प्रहरी प्रमुख मल्लले भने, ‘जिल्ला झिकाउन निर्देशन दिइसकेको छु । यदि गल्ती गरेको रहेछ भने विभागीय कारबाहीका लागि सिफारिस गर्छु ।’ 
तस्विर सौजन्य : पत्रकार शिवकुमार कार्की

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७