रिहा भए मलेसिया पक्राउ परेका कलाकार


९ असार २०७६, सोमबार
sherya rai and sunita thegim

काठमाडौं, ९ असार । मलेसियामा पक्राउ परेका तीन जना नेपाली कलाकार रिहा भएका छन् । एसएसओजी धमाका वान नामक सांगितिक कार्यक्रमका लागि करिब तीन साताअघि मलेसिया पुगेका गायिकाद्वय श्रेया राई, सुनिता थेगिम र गायक सुजन आङदम्बेलाई अदालती प्रक्रिया पुरा भएपछि रिहा भएका हुन् ।

उनीहरुलाई स्वदेश फर्काउने तयारी भइरहेको छ । उनीहरुलाई गत बिहीबार स्थानीय अदालतमा उपस्थित गराइएको थियो । अदालतले तोकेको जरिवाना रकम तिरेपछि उनीहरुलाई क्वालालम्पुर विमानस्थलस्थित फिर्ती केन्द्रमा राखीएको नेपाली दूतावासले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुको अवस्थाबारे बुझी थप कानुनी प्रक्रिया अपनाउन दूतावासले वकिलको व्यवस्था मिलाएको थियो । दूतावास स्रोतका अनुसार स्वदेश फर्काउनका लागि आवश्यक पर्ने आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा भइसकेको छ । हवाई टिकट लगायत केही प्रक्रिया मात्र बाँकी रहेको र उक्त काम भइरहेको जनाइएको छ ।

पक्राउ परेकाहरुको उद्धारको पहल गर्न एवं पछिल्लो अवस्थाबारे बुझ्न गैरआवासीय नेपाली संघका महासचीव सुन्दर आले र सदस्य दिल कुमार केरुङ सोमबार क्वालालम्पुर विमानस्थलस्थित फिर्ती केन्द्रमा पुगेका थिए

कार्यक्रममा सहभागी हुन गएका तीन कलाकारहरुसहित स्थानीय नेपाली कलाकार र आयोजक टोलीसहित ३२ जना अध्यागमन उल्लंघन गरेको आरोपमा यसै महिना ६ तारिकमा कार्यक्रमस्थल हुने भनिएको स्थान क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाटै पक्राउ परेका थिए ।

दूतावासका अनुसार पक्राउ पर्ने अन्य कतिपय छुटिसकेका छन् । कतिपय अदालतको फैसलापछि जेल र फिर्ती केन्द्रमा छन् ।

मलेसियामा अदालती फैसलाअनुसार जरिवाना रकम तिरेका र जेल सजाय पूरा गरिसकेपछि फिर्ती केन्द्रमा राख्ने गरिन्छ । फिर्ती केन्द्रमा रहेकाहरु हवाई टिकटको व्यवस्था मिलाएर स्वदेश फर्कन पाउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७