विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै बंगलादेश बनायो सेमिफाइनलको सम्भावना


१० असार २०७६, मंगलवार
cricket 4

काठडमाडौं, १० असार । अफगानिस्तानलाई हराउँदै बंगलादेशले इङ्ल्याण्डमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो पारेको छ ।

साउथह्याम्पटनमा गएराति भएको खेलमा अफगानिस्तान ६२ रनले पराजित भयो । जारी प्रतियोगितामा बंगलादेशको यो तेस्रो जीत हो । रोजबल क्रिकेट मैदानमा बंगलादेशले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा अलआउट हुँदै २ सय रनमा समेटियो ।

अफगानिस्तानलाई सस्तैमा रोक्न बंगलादेशका शकिब अल हसनले ५ विकेट लिए । शकिबले १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिएका हुन् । योसँगै शकिब एक दिवसीय विश्वकपमा ५ विकेट लिने पहिलो बंगलादेशी खेलाडी बनेका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । उसका लागि मुस्फिकर रहिमले ८३ रन जोड्दा शकिबले ५१ रन बनाए । जितसँगै बंगलादेशले शीर्ष चारमा पुग्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

तेस्रो जितसँगै पाँचौ स्थानमा उक्लिएको बंगलादेशले ७ खेलबाट ७ अंक जोडेको छ । अफ्गानिस्तान भने सबै ७ खेलमा पराजित भएको छ । विश्वकप क्रिकेटमा आज इङ्ल्याण्ड र अस्ट्रेलिया भिड्ने छन् ।

६ खेलबाट १० अंक जोडेको अस्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा रहँदा ८ अंक जोडेको आयोजक इङ्ल्याण्ड चौथो स्थानमा छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७