विप्लवको बन्दले काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित

केहि स्थानमा शंकास्पद वस्तु फेला, लामो दूरीका सवारी ठप्प


१० असार २०७६, मंगलवार
sunsanktm2

काठमाडौं, १० असार । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आह्वान गरेको बन्दका कारण आज (मंगलबार) काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित बनेको छ ।

आफ्ना पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा विप्लव नेतृत्वको नेकपाले मंगलबार बन्द आह्वान गरेको हो । सडकमा बन्दकर्ता नदेखिए पनि काठमाडौं उपत्यकामा बिहानैदेखि बन्द असर देखिएको हो ।

विगतको बन्दहरु भन्दा आज काठमाडौं उपत्यकाका सडक सुनसान देखिएका छन् । निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको त्रासले सार्वजनिक सवारी कम मात्रामा चलेका छन् । सार्वजनिक सवारी कम चल्दा जनजीवन प्रभावित भएको छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार एकाध बाहेकका सवारी उपत्यकाबाट बाहिरिएका छैनन् । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन त मंगलबार बिहानैदेखि ठप्प छन् ।

बन्दको प्रभाव उपत्यकाको सवारी आवागमनसँगै शैक्षिक संस्था, कलकारखानालगायतमा पनि परेको छ । काठमाडौं उपत्यकाका विद्यालय तथा क्याम्पसहरुले त्रासका कारण छुट्टी दिएका छन् ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयले बिहान कम सवारी साधन चले पनि विस्तारै सडकमा चाप पर्दै गएको जनाएको छ । देशकै प्रमुख लाइफलाइन पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ । यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् । मुग्लिन प्रहरीका अनुसार, निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन् ।

बन्दको प्रभाव देशका अन्य भागमा पनि परेको छ । सवारी साधनसँगै शैक्षिक संस्था र कलकारखानामा पनि बन्दले प्रभावित भएका छन् । कतिपय स्थानमा शंकास्पद वस्तु भेटिएपछि जनजीवन त्रस्त बनेको छ । ललितपुरको जावलाखेल खेल मैदान अगाडि भेटिएको प्रेसर कुकर बम सेनाको टोलीले निस्क्रिय बनाएको छ ।

यस्तै काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार गेट नजिक शंकास्पद बस्तु भेटिए पनि उक्त बस्तु बम नभएको खुलेको छ । प्रहरीका अनुसार प्लास्टिकको भाँडोमा माटो भरेर राखिएको पाइएको छ । विप्लव समूहले आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज एक दिन नेपाल बन्द आहृवान गरेको हो ।

पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए । प्रहरीले मुठभेडका क्रममा पौडेल मारिएको बताए पनि विप्लव समूहले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरिएको भन्दै सरकारको आलोचना गरेको छ । यो हत्या प्रकरणमा विप्लवसँगै सत्तारुढ तथा विपक्षी दलका नेताले समेत सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले समेत सर्लाही घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७