प्रहरीसम्बन्धी विधेयकप्रति कांग्रेसको असन्तुष्टि


१० असार २०७६, मंगलवार
rajya byawastha 1

काठमाडौं, १० असार । विपक्षीा दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश सरकारसँग छलफल नै नगरी सरकारले ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ल्याएको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले प्रदेश सरकार र विज्ञहरुसँग छलफल नै नगरी सरकारले सो विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा भाग लिंदै उनले सरोकारवाला निकायसँग छलफल नै नगरी ल्याइएकाले सरकारले ल्याएका पछिल्ला सबै विधेयक विवादमा तानिएको बताए ।

सांसद राजभण्डारीले प्रदेशमा समायोजनका लागि पठाउने प्रहरी कर्मचारीको टुंगो लगाउने काम प्रदेश सरकारसँग छलफलपछि मात्रै उपयुक्त हुने तर्क गरे । नेपाली कांग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडुले आवश्यक दरबन्दी तय नगरी प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीमा समायोजन नगर्न सरकारसँग माग गरेका छन् ।

उनले निजामती कर्मचारीहरुले प्रदेश र स्थानीय तहमा समायोजनमा जान नमानेको दृष्टान्त पेश गर्दै सोही गल्ती प्रहरी कर्मचारी समायोजन गर्दा सरकारले दोहोर्‍याउन नहुने स्मरण गराए ।
यस्तै सत्तारुढ नेकपाकी सांसद रेखा शर्माले भने संविधान बमोजिम प्रहरी कर्मचारी समायोजन गर्न सो विधेयक आएको भन्दै सरकारको बचाउ गरेकी छन् ।

उनले प्रदेशमा समायोजनमा जाने प्रहरी कर्मचारीहरुको पनि पेन्सनको व्यवस्था संघीय सरकारले नै गर्नुपर्ने प्रस्ताव पनि अघि सारिन् । संवैधानिक व्यवस्था अनुसार प्रहरी कर्मचारीलाई पनि नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजन गर्नुपर्ने भएकाले सोही व्यवस्था गर्न सरकारले सो विधेयक ल्याएको हो । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले भने प्रदेश कानुन बनेपछि मात्रै प्रहरी कर्मचारीलाई प्रदेशमा समायोजन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७