कुमार पौडेलको पहिला हात–खुट्टा भाँचेर गोली हानियो : जनार्दन

‘कानुनी कार्बाहीमा सरकारलाई साथ दिन सकिन्छ तर, हत्यामा सकिंदैन’


१० असार २०७६, मंगलवार
Janardan Sharma जनार्दन शर्मा Prabhakar is a Nepalese politician belonging to the Communist Party of Nepal

काठमाडौं, १० असार । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्माले नेत्रविक्रम चन्द (विप्लव) समूहका सर्लाही इञ्चार्ज कुमार पौडेललाई पहिले हात–खुट्टा भाँचेर गोली हानिएको ठोकुवा गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापाले प्रहरीसँगको मुठभेडमा पौडेल मारिएको बताइरहेका बेला घटनाको फोटो हेर्दा पहिले हात–खुट्टा भाँचेर गोली हानेको देखिएको शर्माले दावी गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार भएको छलफलमा पूर्व गृहमन्त्री समेत रहेका शर्माले गृहमन्त्री थापालाई प्रश्न गरे, ‘पहिला हात–खुट्टा भाँचेर गोली हानिएको अवस्था कसरी मुठभेड हुनसक्छ ? के गोली हानेपछि भाँच्चियो हात खुट्टा ? यस्तो घटनाले विद्रोहमा जनतामा असन्तुष्टि आउँछ ।’

शर्माले विगत पनि सम्झिए । जनयुद्धमा निहत्था मानिस मारिएको उनको भनाइ थियो । ‘के हामी त्यही प्रवृत्ति दोर्‍होयाउन चाहन्छौं ? कानुनी कार्बाहीमा साथ हुन्छ तर, हत्यामा साथ हुँदैन,’ उनले भने, ‘यो मुठभेडमा हो भन्ने लाग्दैन ।’

उनले विप्लवले मुठभेड चाहेकाले सरकार त्यसतर्फ जान नहुने बताए। साथै उनले गृहमन्त्रीलाई प्रहरीको गल्ती सुधार्न पनि आग्रह गरेका छन् ।

नेकपाकी सांसद रेखा शर्माले संकटकाल सम्झँदै भनिन्, ‘संकटकालमा एक वर्ष आर्मीको क्याम्पमा बस्दाभित्र हात खुट्टा भाँचेर बाहिर लगेर मुठभेड भन्ने गरिएको थियो। कुमार पौडेलको हात चार–पाँच ठाउँमा भाँचिएको फोटो सार्वजनिक भएको छ त्यसबारे गृहमन्त्रीको जवाफ दिनुपर्छ ।’ गृहमन्त्री थापाले भने प्रहरीसँगको मुठभेडमा पौडेल मारिएको दावी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७