इङ्ल्याण्डलाई हराउँदै अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा


११ असार २०७६, बुधबार
aus 1

काठमाडौं, ११ असार । आईसीसी एक दिवसीय विश्वकपमा अष्ट्रेलियाले छैठौं जित निकाल्दै पुनः अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले इङ्ल्याण्डलाई ६४ रनले हरायो । जितसँगै अष्ट्रेलिया यो विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ ।

eng vs aus

लर्ड्समा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ८५ रन बनायो । बलियो शुरुवात गरेको उसले पहिलो विकेटका लागि एक सय २३ रनको साझेदारी गरेको थियो । उसका लागि डेविड वार्नरले ५३ रन बनाए । त्यसपछि उस्मान ख्वाजाले २३ तथा स्टिभ स्मिथ ३८ रनमा आउट भए ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले शतकीय पारी खेले । उनले एक सय १६ बलमा सय रन बनाए । शुरुवात राम्रो गरे पनि उसका मध्यक्रमका खेलाडीबीच दरिलो साझेदारी हुन सकेन ।
मार्कस स्टोनिस आठ रनमा आउट भए भने प्याट कमिन्सले मात्र एक रन बनाए । अन्तिममा एलेक्स क्यारीले अविजित ३८ रन बनाए । बलिङमा इंग्ल्याण्डका क्रिस ओक्सले दुई तथा जोफ्रा आर्चर, मार्क उड र बेन स्टोक्सले एक–एक विकेट लिए ।

जवाफमा इङ्ल्याण्ड ४४ ओभर ४ बलमा २२१ रनमा अलआउट भयो । निकै खराब शुरुवात गरेको इङ्ल्याण्डले ५३ रनमा चार विकेट गुमायो । उसका ओपनर जेम्स भिन्सले खाता खोल्न सकेनन् भने जोनी बेयरस्टो २७ रनमा आउट भए । यस्तै जोय रुटले आठ तथा कप्तान ओयन मोर्गन मात्र चार रनमा पेभेलियन फर्किए ।

त्यसपछि बेन स्टोक्स र जस बट्लरबीच पाँचौ विकेटका लागि ७१ रनको साझेदारी हुँदा इङ्ल्याण्ड केही सम्हालिएको थियो । तर बट्लर मात्र २५ रनमा आउट भए ।

त्यसपछि क्रिस ओक्स पनि २६ रनमा पेभेलियन फर्किएपछि उसले एक सय ७७ रनमा ६ विकेट गुमायो । तर त्यसपछि उसले अरु दुई विकेट सस्तैमा समेट्यो । उसका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रन बनाए भने मोइन अली मात्र ६ रनमा आउट भए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७