पाँचथरमा पहिरोले दर्जनौं घरमा क्षति, ६ बस्ती पहिरोको जोखिममा


११ असार २०७६, बुधबार
pahiro 1

पाँचथर, ११ असार । निरन्तरको वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिका–२ फलैंचाका ६ बस्तीहरु पहिरोको चपेटामा परेका छन् ।

उच्च पहाडी क्षेत्रमा पर्ने यहाँका सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा मङ्गलबार रातिदेखि पहिरो जान थालेको गाउँपालिका–२ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिए ।
पहिरोले मुक्लाबुका पहलमान राईको घर बगाएको छ । यहाँका दर्जनौँ घरमा पहिरोबाट क्षति पुगेको छ । वडाध्यक्ष योङहाङका अनुसार मङ्गलबार रातिदेखि नै स्थानीयवासी सुरक्षित स्थानको खोजीमा निस्किएका छन् ।

चिङ्माका १४ घरपरिवार सुरक्षित स्थानको खोजीमा डुँडे चौर भन्ने स्थानमा पुगेको वडाध्यक्ष योङहाङले जानकारी दिए । स्थानीयवासीका गाई तथा चौंरी गोठ पहिरोले बगाएको छ ।

यद्यपि क्षतिको पूर्ण विवरण प्राप्त हुन नसकेको वडा सदस्य प्रेमबहादुर राईले जानकारी दिए ।
पहिरोका कारण यी बस्तीहरुमा सञ्चालित मेजर चिङ्मा रवि खोला लघु जलविद्युत् आयोजनामा क्षति पुगेको छ । आयोजना अवरुद्ध भएपछि स्थानीयवासीसँग सम्पर्क हुन नसकेको वडाध्यक्ष योङहाङले जानकारी दिए ।

उनका अनुसार निरन्तर वर्षा भइरहेका कारण यी छ वटै बस्तीका स्थानीय सुरक्षित स्थानका खोजीमा निस्किएका छन् । ‘हालसम्म करीब ३० परिवार सुरक्षित स्थानको खोजीमा निस्किएको सुनिएको छ’, योङहाङले भने, ‘निरन्तर वर्षा भए पहिरो जानसक्ने भयले स्थानीय घरबाट निस्किएका हुन् । वर्षा रोकिएमा विस्थापित हुने थिएनन् ।’

गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले च्याङथापु तथा फलैँचा बजारमा रहेको प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी टोली गएको र टोली फर्किएपछि उक्त स्थानको वास्तविक अवस्था थाहा हुने बताए । उनले पहिरोको क्षति र भयबाट विस्थापित स्थानीयवासीको अस्थायी बसोबासका लागि राहत सामग्री सदरमुकाम फिदिमबाट मगाइएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार च्याङथापु तथा फलैँचा बजारमा रहेको प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी टोली गएको छ । उनले पहिरोका कारण एक घर बगेको, पशुचौपाया बगाएको तथा दर्जनौँ स्थानीयवासी घर छोडेर सुरक्षित स्थानको खोजीमा लागेका छन् । घटनास्थलतर्फ गएको प्रहरी टोली घटनास्थलबाट फर्किएपछि वास्तविक अवस्था पत्ता लाग्ने पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७