माथिल्लो तामाकोशी : ठाडो सुरुङमा पाइप जडान धमाधम


११ असार २०७६, बुधबार
Penstock

काठमाडौं, ११ असार । ठाडो सुरुङमा पाइप जडान गर्ने कार्यले गति नलिँदा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न नहोला कि भन्ने चिन्ता सर्वत्र थियो ।

सोही चिन्तालाई समाधान गर्दै यही असार १ गतेदेखि तल्लो ठाडो सुरुङमा पाइप जडान शुरू भएको हो । सोही क्रममा मंगलबारदेखि माथिल्लो ठाडो सुरुङमा समेत पाइप जडानको काम शुरू भएको छ ।

राष्ट्रियरूपमा नै रणनीतिक प्रभाव पार्ने आयोजनालाई समयमै सम्पन्न गर्ने हुटहुटी नेपाल विद्युत् प्राधिकरण र आयोजनालाई रहेको छ । आर्थिकरूपमा मुलुकलाई ठूलो फाइदा हुने आयोजना सम्पन्न गर्न सरकारले सबै प्रकारको साधन तथा स्रोत उपलब्ध गराएको छ तर जटिल काम गर्दा अनेकौ समस्या देखिनु पनि स्वभाविक नै छ र हुन्छ पनि । माथिल्लो तामाकोशी आयोजनामा पनि त्यस्तै भयो । आयोजनाले ठाडो सुरुङमा पाइप जडान गर्ने कार्य शुरू गर्‍यो तर धोका दियो क्रेन र डोरीले ।

आगामी चैतसम्म आयोजना सम्पन्न गर्नै पर्ने दबाब एकातिर छ, अर्कोतर्फ उपकरणले समस्या खडा गरिदिन्छ । पाँच मिटर लम्बाइ र ३.६ मिटर व्यासका २७ टन तौल भएको पहिलो पाइप राख्नु सामान्य विषय पक्कै होइन । सामान्य कमजोरी हुँदा समेत कामदारको ज्यान समेत जान सक्छ ।

आयोजनाले सुझबुझपूर्ण निर्णय गरेर, सबै सामग्री जम्मा पारेर सबभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडानको काम धमाधम अगाडि बढेको छ । यही असार १ गतेदेखि तल्लो ठाडो सुरुङमा पाइप जडानको काम शुरू भएको हो ।

सोही क्रममा हिजो मंगलबारदेखि माथिल्लो सुरुङमा समेत पाइप जडानको काम शुरू भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए । आयोजनाको जटिल मानिएको दुइटा ठूला सुरुङमा स्टिलका ठूला पाइप राख्नु रहेको छ ।

आयोजनाका अनुसार पहिलो ठाडो सुरुङ ३१० मिटर लामो छ भने दोस्रो ३७२ मिटर लामो छ । ‘मंगलबारदेखि माथिल्लो ठाडो सुरुङमा समेत पाइप जडानको काम शुरू भएको छ । यसले आयोजनाको सबभन्दा जटिल मानिएको काम अब सम्पन्न हुने दिशामा अगाडि बढेको छ’, प्रवक्ता न्यौपानेले भने ।

भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्बे इञ्जिनियरिङले ३१० मिटर लामो ठाडो सुरुङमा दुई दशमलव पाँच मिटर लम्बाइ तथा नौ टन क्षमता भएको पहिलो पाइप सफलतापूर्वक जडान गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । कुल ३५ टन क्षमता भएको विशेष प्रकारको डोरीको सहायताले पाइप जडान शुरू भएको हो ।

आयोजना प्रमुख दिनेशजंग राणालगायतको उपस्थितिमा करिब दुई घण्टा लगाएर जडान गरिएको हो । स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको तल्लो ठाडो सुरुङमा यसअघि नै पेनस्टक पाइप जडान शुरू भएको छ ।

पाइप जडान भएपछि त्यसलाई मिलाउने र ढलान गरिने छ । त्यसपछि अर्को पाइप जडान हुनेछ । पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्यौल हटेको कार्यकारी निर्देशक घिसिङले बताए । पेनस्टक पाइप जडान असाध्यै गाह्रो थियो। यसअघि जडान सुरू गर्दा क्रेनको डोरी नै चुँडिएको थियो ।

‘त्यसपछि क्रेनले काम गर्नेरनगर्नेलगायतका अन्यौल र अनिश्चितता थियो, अब पहिलो पाइप सफलतापूर्व राखिएपछि सबै अन्यौल हट्दै आयोजना सम्पन्न हुनेतर्फ काम बढेको छ’, उनले भने । आयोजनाको पहिलो युनिटबाट आगामी पुसभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
सो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । मन्त्रालयले दिएको स्वीकृतिअनुसार आयोजना आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य छ । पछिल्लो व्यवस्थाअनुसार क्रेनले लगातार पाइप झार्ने हुँदा अब कामले गति लिने विश्वास लिइएको छ ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रो–मेकानिकल ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । माथिल्लो तामाकोशी, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकाले नै गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७