पत्रकार सङ्गीत श्रोता ‘झुक्किएर’ पक्राउ : प्रहरी प्रवक्ता भन्छन्, ‘झुक्किएर पक्रिनेलाई छुट हुन्छ’


११ असार २०७६, बुधबार
Sangeet

काठमाडौं, ११ असार :  एउटा कार्यक्रममा सहभागी भएर फर्किन्दै गर्दा बुधबार दिउँसो प्रदर्शनीमार्गबाट कवि तथा पत्रकार सङ्गीत श्रोता पक्राउ परे ।

प्रर्दशनीमार्ग स्थित आरआर क्याम्पस अगाडि हिडिरहेको बेला डिएसपी कौशल बुढाथोकी नेतृत्वको प्रहरी टोलीले कवि तथा पत्रकार सङ्गीतलाई नियन्त्रणमा लिएको थियो ।

नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष समेत रहेका नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार सङ्गीतलाई पक्राउपछि सुरुमा प्रदर्शनी मार्गस्थित पुलिस क्लबमा राखियो । त्यसपछि महानगरीय प्रहरी बृत्त सिंहदरबारमा ।

पत्रकार श्रोतासँगै रहेका अर्का पत्रकार दिपक सापकोटा अचम्भित भए । ‘मास्क लगाएका प्रहरी पोशाकमा रहेका प्रहरीले साथीलाई किन समातेर लग्यो ?’ उनले केही मेसो समेत पाएनन् । त्यसो त सङ्गीत आफैले पनि मेसो पाएनन्,‘आखिर, किन म पक्राउ परेँ ?’

Sangeet srota
रिहा भएपछि कवि तथा पत्रकार सङ्गीत श्रोता

सङ्गीत पक्राउ परे लगत्तै हल्लाखल्ला भयो । नेपाल पत्रकार महासंघको टोली, नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोेटा, सम्पादक उमेश चौहान सहित प्रहरी कार्यालय पुगे । ‘किन पक्राउ गरियो ?’ सोधीखोज गरिदा कारण भेटिएन । केही कारण नभेटिएपछि प्रहरीले भन्यो, ‘झुक्किएर पक्राउ गरियो ।’

नेपाल प्रहरी जस्तो संयन्त्र र सूचना भएको निकायले कसैलाई ‘झुक्किएर’ पक्राउ गरेको भन्नु गैरजिम्मेवार भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । डिएसपी बुढाथोकीले थाहा नभएका कारण पक्राउ गरिएको भन्दै अबदेखि पत्रकारलाई बिनाकारण पक्राउ नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेललाई नयाँ पेजेले सोध्यौं, ‘झुक्किएर भन्दै विना कारण पक्राउ गर्ने प्रहरीलाई के हुन्छ ?’ ‘केही हुँदैन’ डीआईजी पोखरेलले भने,‘झुक्किएर पक्रिनेलाई छुट हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७